होमपेज / राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्पुनिष्ट पार्टी नेकपाले सचिवालय बैठक आज –शनिबार) बस्दै छ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि पार्टीको औपचारिक निर्णयका लागि नेकपाले सचिवालय बैठक बोलाएको जनाइएको छ । नागरिकता विधेयकमाथि नेकपाभित्र छलफल र राय सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको हो । यसअधि प्रधानमन्त्री ओलीले हिजो अर्का अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका नेताहरुसँग नागरिकता विधेकका बारेमा राय लिएका थिए । त्यसपछि सचिवालय बैठक बोलाइएको हो ।
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि विषयबारे छलफल गर्न सचिवालय बैठक बस्ने जानकारी नेताहरुले दिएको प्रमुख सचेतक देव गुरुङले बताए । गुरुङले लामो समयदेखि थाँती नागरिकता विधेयक अब टुंगाउनुपर्छ भन्ने निष्कर्षमा नेताहरु पुगेको बताए । शुक्रबारको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलका उपनेता सुबास नेम्बाङ, प्रमुख सचेतक गुरुङ, राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठ तथा नेताहरु भीम रावल र पम्फा भुसाल लगायत सहभागी थिए ।