होमपेज / राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले अंग्रेज साम्राज्यले लुटेको नेपालको भूमि भारतले फिर्ता दिनुपर्ने बताएका छन् । अंग्रेज साम्राज्यले लुटेका दार्जिलिङ देखि काँगडासम्मको भूभाग भारतले नेपाललाई फिर्ता दिनुपर्ने उनको भनाई थियो ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेता शर्माले भारत साँच्चै असल मित्र भए अंग्रेज सम्राज्यले लुटेको नेपाली भूभाग नेपाललाई नासोका रुपमा फिर्ता गर्नुपर्ने बताएका हुन् ।
नेता शर्माले भनेका छन्, ‘चेलीबेटीको नाता हो, डोलीबेटीको नाता हो भनेर भारतका नेताहरू भन्नुहुन्छ । यदि त्यसो हो भने सगौरव दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ र काँकडासम्मको भूभाग फिर्ता गरिदिनुपर्छ । यो तपाईंहरुको नासो हो, यो नासो बुझ्नुस् भनेर भन्नुपर्छ ।’