होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शिक्षालाई राजनीतिबाट टाढा राख्न माग गरेको छ । नेविसंघले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आइतबार ज्ञापन पत्र बुझाउँदै शिक्षालाई दलीय राजनीतिबाट टाढा राख्न ती कार्यक्रमहरु खारेज गर्न माग गरेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, स्वयंसेवक शिक्षक परिचालन जस्ता कार्यक्रम शिक्षामा दलीय राजनीतिलाई प्रश्रय दिन ल्याइएकोले खारेज गरियोस भन्दै ज्ञापन पत्रमा भनिएको छ ।
नेविसंघले सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार विकार र शैक्षिक गुणस्तरको दायित्व राज्यको भएको भन्दै बजेट वक्तव्यको बुँदा नम्बर १ सय ६६ को अपमानजनक व्यवस्था खारेज गर्न पनि माग गरेको छ ।
नेविसंघले सबै विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलेन्जेलको अवधिभर कुनै पनि प्रकारको शुल्क नलिन पनि माग गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए । अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न पनि नेविसंघले सरकारसँग माग गरेको छ ।
सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यमबट आगामी शैक्षिक सत्रको पठनपाठन सुरु गर्न र इन्टरनेट लगायतका सबै प्रविधिकको निःशुल्क व्यवस्था गर्न नेविसंघले माग गरेको हो ।