होमपेज / राजनीति
काठमाडौँ । साझा पार्टीले देशभर भइरहेको प्रदर्शन स्थगित गर्न आग्रह गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गर्दै भइरहेको प्रदर्शन तत्कालका लागि स्थगित गर्न आग्रह गरेको हो ।
शनिबार बिहान साझा पार्टीका सह–प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै सरकारले पीसीआर परीक्षणको दायरा बढाउने तथा कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्चको विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको भन्दै अहिले भइरहेको प्रदर्शन स्थगित गर्न आग्रह गरेका हुन् ।
‘पछिल्ला केही दिनयता देशका विभिन्न भागमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै सरकारले हिजो शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा साझा पार्टीको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक गर्ने, महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने, पीसीआर टेस्टको दायरा थप बढाउने भनी सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई साझा पार्टी शंकाको सुविधासहित स्वागत गर्दछ ।’
सरकारले विगतमा कैयौँ पटक आफ्ना प्रतिवद्धता भुलेर नागरिकको विश्वासमाथि धोका दिएको उल्लेख गर्दै साझा पार्टीले अहिले पनि प्रतिबद्धताविपरीत धोका दिने काम भए प्रदर्शन अझ सशक्त भएर जान सक्ने र त्यसको नतिजा गम्भीर हुनसक्ने चेतावनी दिएको छ ।
त्यस्तै शनिबार प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन हुने भएकाले सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संशोधन गर्ने संसद्को ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसद्भित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न पनि साझा पार्टीले आग्रह समेत गरेको छ ।