होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाइछाड्ने संकल्प गर्नुपर्ने बताएका छन् । अद्यावधिक नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको छलफलमा भाग लिँदै मंगलबार सांसद थापाले विदेशी सेनालाई पनि फिर्ता पठाउनुपर्ने बताए ।
‘सरकारले नक्सा ल्यायो धन्यवाद,’ उनले भने, ‘संसदमा दुइटा संकल्प प्रस्ताव संसदमा दर्ता छ । कांग्रेस र नेकपाका सांसदको । त्यो प्रस्ताव एउटै बनाऔं र संविधान संशोधन सँगै नक्सा मात्र होइन यो भूमिबाट विदेशी सेना फिर्ता पठाएर छाड्छौं भन्ने संकल्प गरौं । सरकारलाई पूरा साथ रहन्छ ।’
उनले सरकारलाई गफ मात्र होइन काम पनि गर्न आग्रह गरे । ‘सरकार गफ मात्र होइन काम पनि गर,’ उनले भने, ‘खुट्टा नकमाऊ । संसदप्रति जवाफदेही होऊ । उत्तेजना र आवेग होइन, सहास र संयमताका चाहिएको छ ।’ उनले माटो जोगाउने मुद्दामा प्रधानमन्त्रीलाई साथ रहेको बताउँदै मान्छेका बारेका मुद्दा पनि भुल्न नहुने बताए । ‘नक्सा जारी गर्दा एक भएर उभिएका छौं। विदेशी सेना फिर्ता पठाउन पनि एक ठाउँमा उभिनेछौं,’ उनले भने। कालापानीलगायत नेपाली भूमिमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ ।