होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममाथि प्रश्न उठाएका हुन् । आइतबार प्रतिनिधिसभा संसदमा बोल्दै सांसद थापाले शिक्षाका कार्यक्रमले निराश बनाएको उल्लेख गरे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमबारे गम्भिर प्रश्न उठाउँदै भने, ‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो?,’ उनले थपे, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेको जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दै गर्दा पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधान र व्यवस्था विरोधी छ ।’ यस्तो कार्यक्रमलाई छ अरब बजेट दिइएको थापाको भनाइ छ । ‘गत वर्ष पाँच अरब बजेट भएको यस्तो कार्यक्रमलाई अहिले छ अरब बजेट?’ उनले भने ।
शिक्षा मन्त्रीले यस्ता कार्यक्रम बनाउँदा तलब नपाएका सहजकर्ता, शिक्षक र आशिंक प्राध्यापकको याद गर्नुपर्ने थापाको भनाइ छ । ‘यो कार्यक्रम बनाउँदा अलिकति याद आएन इडिसिडीका सहजकर्ता, तलब नपाएर बसेका शिक्षक, आंशिक प्राध्यापक भोकै बसेको?’ उनले प्रश्न गरे ।
उनले एक जना शिक्षक राख्न नसकेको शिक्षक स्वयम सेवक कार्यक्रमलाई एक अरब ५० करोडबाट बढाएर दुई अरब २३ करोड बजेट दिइएको उल्लेख गरे ।
‘छात्रबृत्ति तीन अरबबाट किन दुई अरब बनाएको?,’ उनले भने, ‘शिक्षा मन्त्रालयले बजेटले नचिन्ने कार्यक्रमलाई किन निरन्तरता दिएको? दाताको पैसा कतिञ्जेल चल्छ?’