होमपेज / राजनीति
सुर्खेत । शनिबार राती स्थानीय बासीको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका –४ रानागाउँका नवराज विकको मृत्यु प्रति नेकपा रुकुम पश्चिमले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । आइतबार नेकपा रुकुम जिल्ला अध्यक्ष गोपाल शर्माले एक विज्ञप्ती जारी गर्दै नेकपा रुकुमले स्थानीय पार्टी, सरकार र सुरक्षा निकाय लगायतको ध्यान कोरोना भाईरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रीत भएको स्थितिमा जाजरकोटबाट आएका केही युवा र स्थानीय बिच विवाद हुँदा भएको उक्त घटनाप्रति दुख व्यक्त गरेको छ ।
विज्ञप्तीमा भनिएको छ । ‘स्थानीय प्रहरीका अनुसार उक्त घटनाका क्रममा २ युवाहरुको शव नदी किनारमा फेला परेको, केही व्यक्ति प्रहरी सम्पर्कमा आएको र केही व्यक्ति अझै पनि सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ । प्रेम सम्वन्ध र विवाह प्रसंगका कारण भएको भनिएको अकल्पनीय एवं निन्दनीय सो घटनाको निश्पक्ष छानविन गरि दोषिलाई कानुन वमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनको गम्भिर ध्यानाकर्षण गराउदछौं ।’
साथै घटनाका क्रममा वेपत्ता रहेका व्यक्तिहरुको तत्काल खोजीकार्य तथा उद्धारको लागि पनि स्थानीय सरकार, प्रशासन तथा सुरक्षा निकायलाई अनुरोध समेत गरिएको छ ।
साथै घटनाको सत्यतथ्य वुझ्न र अनुसन्धानमा सहयोग गर्न पार्टीको प्रदेश कमिटी सदस्य चन्द्रवहादुर विश्वकर्माको संयोजकत्वमा प्रदेश कमिटी सदस्य पुश्प वादी र जिल्ला कमिटी सदस्य भिमा थापा सदस्य रहेको ३ सदस्यीय समिति गठन गरिएको समेत जानकारी दिएको छ । साथै घटनाको निश्पक्ष छानबिन तथा अनुसन्धानमा स्थानीय प्रशासनलाई पूर्णरुपमा सहयोग गर्न जिल्ला कमिटीको तर्फवाट स्थानीय पार्टी एवं सरकारलाई निर्देशन समेत दिएको छ ।
यस अघि शनिबार राती रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीस्थित एक युवती र मृतक नवराज बीच लामो समयदेखि प्रेम रहेको र ती युवतीले बोलाए पछि नवराजले १९ जना युवाहरु लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती गएका अनुसन्धानको क्रममा प्रहरीले जानकारी दिएको छ । केटाहरु आएको खबर ती युवतीको आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवाहरुलाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।