ट्रेण्डिङ

होमपेज / राजनीति

‘कसैको दबाबबाट झुक्दैनौँ’ – अध्यक्ष थापा

नेपालगाथा २०७७ जेठ ८ गते बिहीबार १८:०७:३५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कसैको दबाबबाट नझुक्ने बताएका छन् । अध्यक्ष थापाले आफ्नो ट्वीटरमा लेख्दै सन् १८१६ को सन्धि अनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएका बलिया आधार नेपालसँग भएको बताएका छन् । ‘नेपालले विभिन्न क्षेत्रमा भएका अतिक्रमणविरुद्ध ६ दशकदेखि निरन्तर कुरा उठाउँदै आएको छ,’ उनले लेखेका छन, ‘सन् १८१६ को सन्धि अनुसार काली नदीदेखि पूर्वका क्षेत्र नेपालका हुन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक काली नदी भन्दा पूर्वमा अवस्थित छन् ।’

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको र यसमामाथि हस्तक्षेप नगर्न भारतलाई आग्रह समेत गरेका छन् । उनले भारतलाई नेपालले सीमाको विषयमा ६ दशक देखि निरन्तर कुरा उठाउँदै आए पनि भारतले अटेरी गरेको पनि बताएका छन् । 
पूर्वपरराष्ट्र तथा गृहमन्त्रीसमेत रहेका थापाले नेपालले कसैको उक्साहटमा जक्सा जारी गरेको भारतीय सेना प्रमुखको भनाइको पनि खण्डन गरे । 

नेपालले बुधबार भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरे पछि भारतको विदेश मन्त्रालयले नेपालको कदमलाई आफ्नो भूभागको कृत्रिम वृद्धि गरेको आरोप लगाएको थियो । तर, दुई पक्षबीच भएको समझदारी विपरीत भारतले नेपाली भूभागसमेत मिचेर चीनसँग जोड्ने सडक उद्घाटन गरेका कारण समस्या थप बल्झिएको थापाले उल्लेख गरेका छन् । राष्ट्रिय अखण्डताको रक्षा गर्न तयार रहेको र कुनै पनि आरोप नलगाउन भारतलाई उनले आग्रह पनि गरेका छन् । ‘हामी आफ्नो राष्ट्रिय अखण्डताको रक्षाका लागि पहल गर्न बाध्य भयौँ,’ उनले भनेका छन, ‘नेपाललाई आरोप लगाउन बन्द गरौँ ।’  थापाले नेपाल संवादको लागि तयार रहेको र नेपालसँग तथ्य र प्रमाण रहेको पनि उल्लेख गरेका छन्। ‘हामी वार्ताको माध्यमबाट समस्या सुल्झाउन तयार छौँ,’ उनले भनेका छन, ‘तथ्य र प्रमाणका आधारमा यो मुद्दा सुल्झाउन चाहन्छौँ ।’   

‘सन्धिविपरीत नेपाली भूमि अतिक्रमण गरी भारतले ६ दशकदेखि सीमाको कृत्रिम विस्तार गर्दै आएको हो,’ उनले लेखेका छन, ‘वार्ताबाट समधान खोज्ने सहमतिविपरीत यसबीच अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने, बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो । नेपाल वार्ताबाट समाधान खोज्न तयार छ, तर दवावबाट झुक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top