होमपेज / राजनीति
काठमाडौँ । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको र त्यसलाई भारतबाट फिर्ता लिएरै छोड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मंगलबार संसदमा नीति तथा कार्यक्रम माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भारतले त्यहाँ सेना राखेर विवादित बनाएको बताएका छन् ।
‘भारतीय सेना कालापानीमा बसे पछि त्यसपछि कालापनीमा जान ब्लक भयौं । त्यस बेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं,’ उनले भने, ‘हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’
कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको भनाइ थियो । ठोस रूपमा कूटनीतिक प्रयास गर्ने उनको भनाइ थियो । उनले मन्त्रिपरिषद्बाट नक्सा जारी गरिएको पनि संसदलाई जानकारी गराएका छन् ।
सरकारले देखावा गर्नका लागि कुनै पनि कदम नचालिएको भन्दै उनले नक्सा सार्वजनिक भोलिसम्ममा गरिने समेत बताए । संविधानमा प्रतिक चिह्न संशोधनका लागि पनि प्रस्तुत गरिने प्रधानमन्त्रीले बताए ।