ट्रेण्डिङ

होमपेज / राजनीति

भारतसँग जोडिएका सीमामा तारबार लगाउन माग

नेपालगाथा २०७७ जेठ २ गते शुक्रबार १३:३४:२३ मा प्रकाशित

काठमाडौँ । साझा पार्टीले भारतसँग जोडिएका सीमाहरुमा तारबार लगाउन सरकार सँग माग गरेको छ । शुक्रबार साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी नेपाल–भारत सीमाका निश्चित नाकाहरूमात्र अभिलेखीकरणको व्यवस्था सहित खुला गर्न र अन्य भागमा तारबार लगाउन माग गरेको हो ।
नेपाल र भारत दुबैको हितका लागि राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नुपर्ने साझाको निष्कर्ष छ । उक्त पार्टीले सीमा विवादका विषयमा सरकारलाई भारतसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गर्न समेत आग्रह गरेको छ ।
साथै द्विपक्षीय वार्तामा ढिलाइ हुने अवस्था भए सीमा विवाद नभएका ठाउँमा एकतर्फी रूपमै तारबार लगाउन पहल गर्नसमेत साझाले सरकारको ध्यानाकर्षण गराएको छ ।

‘भारतले कयौं ऐतिहासिक दस्तावेज तथा नक्साहरूले प्रमाणित गरेको नेपाल–भारत सीमालाई समेत बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भूभाग अतिक्रमण गरेको छ,’ विज्ञप्ति भनिएको छ,‘भारतले भर्खरै लिपुलेक भएर चीनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने साझा पार्टीको बुझाइ छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top