होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनीले प्रदेशका श्रमजीवी जनताको जिविकोपार्जनका लागि विशेष व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्याउने विश्वास समेत व्यक्त गरेका छन् ।
‘हाल समग्र विश्व नै नोवल कोरोना भाइरस (कोभिड (१९) को महामारीका कारण सङ्कटको घडीमा छ ।’ शुभकामना सन्देशमा भनिएको छ । ‘यति बेला सबै श्रमजीवीहरूको जनजीवन दिनानु दिन कष्टकर बन्दै गएको छ । यस विषम परिस्थितिमा कर्णाली प्रदेशवासी श्रमजीवी जनताको जीविको पार्जनका लागि विशेष व्यवस्था गर्न कर्णाली प्रदेश सरकारको ध्यान आकर्षण गराउन चाहन्छु ।’
श्रमिकहरूको हक अधिकार स्थापित भएको दिनको स्मरणको रूपमा प्रत्येक वर्ष मे १ का दिन विश्वभर मनाउने गरेको ‘अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसले सम्पूर्ण श्रमजीवीहरूलाई आफ्नो हक, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि एकबद्ध हुन सहयोग पुग्ने अपेक्षा समेत व्यक्त गरे ।
‘नेपाली जनतालाई रोजगारीको लागि विदेशीनुपर्ने बाध्यताको अन्त्य गर्न तीनै तहका सरकारहरूले रोजगारीका अवसरहरू सृजना गर्ने काम प्राथमिकतामा राखी लागिपरेका छन् । नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गरेको छ ।
हालको विश्व सन्दर्भमा कृषि क्षेत्रको अझ महत्व वृद्धि भएकोले कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै यस सँग सम्बन्धित सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्याउने विश्वास लिएको छु ।’ शुभकामना सन्देशमा भनिएको छ ।
‘नोवल कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र बचाउन विश्व स्वास्थ्य सङ्गठन र सरकारले जारी गरेका निर्देशन एवम् आचार संहिताको पूर्ण पालना गर्न सम्पूर्णमा अपिल गर्दछु । साथै दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरूको रोजगारीको ग्यारेन्टी, सिप अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका श्रमअधिकार सुनिश्चितताको शुभकामना व्यक्त गर्दछु । शन्देशमा भनिएको छ ।