होमपेज / राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । सोमबार राति टेलिफोन कुराकानी भएको हो । टेलिफोनमा दुई राष्ट्रपतिले कोरोना भाइरसको विश्वब्यापी फैलिएको असर र यस सँग लड्न विश्वब्यापी रुपमा भइरहेको प्रयासका बारेमा पनि छलफल गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यससँगै दुई राष्ट्रप्रमुखले आ–आफ्ना सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासबारे पनि चर्चा गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीन सरकारले गरेको प्रयासको उच्च प्रशंसा गर्दै यस क्रममा चीनले विश्वभरका देशलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको सहयोगको पनि सह्राहना गरिन् ।
टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको स्मरण गर्दै नेपाल र चीनबीच लामो समय देखिको निकट सम्बन्ध रहेको बताइन् । त्यस क्रममा चीनका राष्ट्रपति सीले पनि उक्त भ्रमणमा नेपालमा आफूले पाएको स्वागतको स्मरण गर्दै भ्रमणबाट महत्वपूर्ण उपलब्धी हासिल भएको बताए ।
राष्ट्रपति सीले कोरोना भाइरस रोकथामका लागि नेपालले तत्काल चालेको प्रभावकारी कदमका कारण कोरोना भाइरस फैलिन नपाएको भन्दै चीनको सहयोग रहने बताए ।
राष्ट्रपति भण्डारीले चीन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको प्रति पनि धन्यवाद दिइन् ।
चीनका राष्ट्रपति सी चिनफिङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि निको भई नियमित कामकाजमा फर्केकामा खुशी व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरे ।