होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश अन्तरगतका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जोखिममा रहेका नागरिकको लागि सहज वातावरण बनाउन निर्देशन दिएका छन् । बिहीबार १० वटै जिल्लका प्रजिअ संग भिडियो कन्फ्रेन्स मार्फत लकडाउनले दैनिकी कष्टकर बनेका कारण उद्धार गरि गाउँ फर्काईएका मजदुर, विद्यार्थी लगायतका सबै नागरिकहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भईरहेका कामकारवाहीहरुका बारेमा जानकारी लिँदै शाहीले यसमा जोड दिन आग्रह गरेका हुँन ।
जोखिममा रहेका नागरिकको उद्धार गर्नु सरकारको दायित्व रहेको भन्दै मुख्यमन्त्री शाहीले संक्रमण फैलिन नदिन भने उच्च सावधानी एवं सतर्कता अपनाउनु पर्ने बताए । अरु देशका सरकारले दुई चार जनाको लागि भएपनि जहाजै रिजर्भ गरेर स्वदेश फर्काएको उदाहरण दिदै मुख्यमन्त्री शाहीले समस्यामा परेका नागरिकलाई किन गाउँ फर्काको भनेर गरिएको तर्क गलत रहेको बताए ।
नागरिकहरु कार्य स्थल तथा डेरामा भोक भोकै हुने र उनीहरुको व्यवस्थापन पनि नगर्ने अवस्थाले राज्यप्रति नै वितृष्णा पैदा हुने भएकोले अति समस्यामा रहेका र प्रदेशको सिमा सम्म हिँड्दै आईपुगेका नागरिकहरुलाई स्थानीय तह संगको सहकार्यमा सम्बन्धित स्थानीय तह सम्म पु¥याउन सहजीकरण गरिएको उनको भनाई छ ।
मुख्यमन्त्री शाहीले सामाजिक दुरी कायम गर्दै एका घरका परिवार मात्रै सहभागि हुने गरि किसानहरुलाई मौसमी वाली भित्र्याउने, व्याड राख्ने लगायतका कृषि कार्य गर्न दिने व्यवस्था मिलाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् । त्यसैगरि मेशिन र कम जनशक्तिको प्रयोगवाट हुनसक्ने विकास निर्माणका कामहरु पनि निरन्तरता दिने व्यवस्थापन गर्न उनले निर्देशन दिएका छन् ।
कोरोना भाईरस (कोभिड–१९)को संक्रमण प्रति अलिकति पनि लापरवाही हुन नहुने बताउदै मुख्यमन्त्री शाहीले लकडाउनलाई क्षेत्रगत रुपमा कडाई गर्नुपर्ने बताए । एक टोलवाट अर्को टोल, एक स्थानीय तहवाट अर्को स्थानीय तह र एक जिल्लावाट अर्को जिल्लामा हुने आवागमणलाई कडाई गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
मुख्यमन्त्री शाहीले नागरिकको जीवन रक्षाको दायित्व सरकारको भएको वताउदै सरकारका सवै निकायहरुसंग सहकार्य गर्दै कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको काममा गम्भिरतापुर्वक लाग्न आग्रह समेत गरे ।
प्रदेश सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका लागि आवश्यक व्यवस्था गरिरहेको बताउदै मुख्यमन्त्री शाहीले स्थानीय तहका लागि आवश्यक वजेट, स्वास्थ्य सामाग्रि तथा अत्यावश्यक खाद्यवस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।
भिडियो कन्फ्रेन्समा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाँण्डे र कर्णाली प्रदेश अन्तरगतका दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको थियो ।