होमपेज / राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड(१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैलाई अपिल गरेकी छिन् । शुक्रबार देशबासीको नामा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हाल सिंगो धर्ती युद्ध मैदान जस्तै भएको र लडाइँ पनि जित्ने विश्वास व्यक्त गरिन् । ‘कुनै भावनामा नबगी कोरोना भाइरसको गाम्भीर्यलाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्छु ।’ राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यानदिनु अति आवश्यक रहेको बताइन् । संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहननसके पनि सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको उनले बताइन् ।
महामारीका बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उनले प्रशंसा गरिन् । उनले भनिन, ‘तपाईंहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैं रहिरहनेछ ।’ कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको महसुस हुन्छ भन्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यो लडाइँमा मानवजाति विजय हुने विश्वास व्यक्त गरिन् ।
उनले कोरोनाबाट संक्रमित भइ उपचाररत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् ।
यस महामारीविरुद्धको लडाइँमा सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनले आह्वान गरेकी छन् ।
जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी संक्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले लकडाउन गरेको भन्दै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो, आफ्नो परिवार, छिमेकी र समुदायको स्वास्थ्यमा ध्यान दिन आग्रह गरिन् । ‘आ(आफ्नो घरमा बसेर सामाजिक दुरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ,’ उनले भनिन् ।