ट्रेण्डिङ

होमपेज / राजनीति

शहीदका सपना पूरा गर्ने प्रतिवद्धता

नेपालगाथा २०७६ फाल्गुण ३ गते शनिबार २२:०४:०२ मा प्रकाशित

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले जनयुद्ध र जनआन्दोलनमा भएका शहीदहरुका सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको जनयुद्ध तथा जनआन्दोलनका शहीदको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेताहरुले शहीदले देखाएको बाटोमा सधंै अघि बढ्ने बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतले आयोजना गरेको जनयुद्धको २५औँ वार्षिकोत्सवमा सहभागी नेता तथा कार्यकर्ताहरुले यस्तो बताएका हुन् ।
श्रद्धाञ्जली समारोहमा नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश कमिटिकी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य सीता नेपालीले जनयुद्धको समयमा भएका महान शहीदहरुको सपना पूरा गर्न सधंै लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।
जनयुद्ध र जनआन्दोलन समृद्धि र परिवर्तनको सन्देश फैलाउँदै अघि बढेको स्मरण गर्दै उनले कर्णालीका दूरदराजमा वस्तीहरुले समेत विकास निर्माण भएको अवास गर्ने गरी प्रदेश सरकारअघि बढ्ने बताइन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सहइन्चार्ज झकबहादुर मल्लले परिवर्तनको निर्णायक कारण जनयुद्ध भएको र जनयुद्धले नै देशबाट राजतन्त्र, अन्य विभिन्न परिवर्तनशील नभएका सत्ताहरु ढालेर परिवर्तनको बाटोमा अघि बढेको बताए । ‘राष्ट्र परिवर्तनका लागि रगतद्वारा लेखिएको नेपालको कम्युनिष्ट आन्दोलन सबैले एक पटक अध्ययन गर्न जरुरी रहेको छ ।’ उनले भने, ‘देशमा यो परिवर्तन त्यतिकै आएको हैन । त्यसमा नेपाली कम्युनिष्ट आन्दोलनको गौरवमय इतिहास छ । युद्धलाई असफल बनाउने सबै खाले षड्यन्त्रहरुलाई कम्युनिष्ट युद्धहरुले चकनाचुर पार्दै अघि बढेका हुन् ।’
वर्तमान समयमा पनि कम्युनिष्ट पार्टीलार्ई कमजोर पार्ने र पूरानै व्यवस्था खडा गर्ने शक्ति अझै पनि अध्याँरो कुनामा बसेर षड्यन्त्र गरिरहेको भन्दै तिनीहरुको सपना कहिल्यै पूरा नहुने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी सुर्खेतका सचिव कृष्ण जिसीले देश परिवर्तनका लागि जनयुद्ध र जनआन्दोलनले महत्वपूर्ण भूमिका खेलेको बताए । जनयुद्ध र जनआन्दोलनको समयमा भएका शहीद, बेपत्ता पारिएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै  उनले परिवर्तको नयाँ स्वरुपसहित अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी अन्य नेता तथा कार्यकर्ता, शहीद परिवारले शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदले देखेको सपना पूरा गर्न लाग्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटले जनयुद्धमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्नुपर्ने माग गरेको छ । जनयुद्ध तथा जनआन्दोलनका शहीदहरुको श्रद्धाञ्जली सभा गर्दै जनयुद्धमा ज्यान गुमाएहरुलाई शहीद घोषणा गर्न माग गरेको हो ।

नेकपाका जिल्ला अध्यक्ष धनजित शाहीले जनयुद्धमा ज्यान गुमाउनेहरुलाई राज्यले औपचारिक शहीद घोषणा गर्नुपर्ने बताए ।  
नेकपा कालीकोटको आयोजनामा आयोजित चियापान तथा जनयुद्ध तथा जनआन्दोनका शहीदहरुको सम्झनामा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले जनयुद्ध तथा जनआन्दोलनका शहीदहरुको सपना साकार पार्न आफू लागिपर्ने प्रतिवद्धता जनाए ।

साथै जनताको अधिकार प्राप्तिका लागि ज्यानको आहुती दिने शहीदहरुका सपना पूरा गर्न जस्तोसुकै चुनौति आए पनि पछि नहट्ने बताए ।
नेकपा कर्णाली प्रदेश कमिटी सदस्य गंगा खड्का, जिल्ला कमिटी सचिवालय सदस्य एवम् युवा नेता तुलाराज मल्ललगायतले राष्ट्रियता, जनजिविका र जनतन्त्र प्राप्तिका लागि ज्यान गुमाउने शहीदहरुका परिवारहरुलाई राज्यले उच्च सम्मान गर्नुपर्नेमा जोड दिए ।

अनेरास्ववियु जिल्ला कमिटी कालीकोटले आयोजना गरेको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य भीमप्रसाद आचार्य, नेकपाका युवा नेता रमेशकुमार शाही, कृष्णप्रसाद आचार्य, प्रेस संगठनका केन्द्रीय सदस्य कालीबहादुर मल्ल लगायतले शुभकाना मन्तव्य राखेका थिए ।
पश्चिम रुकुमको मुसिकोटमा २५औं जनयुद्ध दिवश भव्य रुपमा मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवम् सांसद जनार्दन शर्मा प्रभाकर लगायतका नेताहरुको सहभागितामा जनयुद्ध दिवस भव्य रुपमा मनाइएको हो । तत्कालीन माओवादी जनयुद्धका क्रममा ‘शहीद’ बनेकाहरुको सम्झनामा निर्माण गरिएको शहीद स्मृति पार्क तथा भवनको उद्घाटन गर्दै जनयुद्ध दिवश मनाइएको हो ।

सांसद शर्मासहित रुकुममा कम्युनिष्ट पार्टी स्थापनामा योगदान पु¥याउने वासुदेव गौतम, रुकुम कम्युनिष्ट पार्टीका संस्थापक सदस्य ध्रुव मल्ल र ताराप्रसाद घर्तीले संयुक्तरुपमा शहीद स्मृति पार्क तथा भवनको उद्घाटन गरे ।
जनयुद्धको ऐतिहासिक प्रक्रियामा राष्ट्र र जनताका लागि आफ्नो प्राणको आहुती दिने शहीदहरुको सम्झना र सम्मानमा शहीद स्मृति पार्क तथा भवनको निर्माण गरिएको नेता शर्माले बताए ।
मुसिकोट नगरपालिका ५ स्थित सेरीगाउँमा करिव ७ रोपनी क्षेत्रफलमा फैलिएको शहीद स्मृति पार्क तथा भवन संघीय संसद् क्षेत्र विकास कोषको करिब २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो । पार्कभित्र जनयुद्धका क्रममा रुकुमबाट शहीद हुनेहरुको नामावलीका साथै युद्ध स्मारक पनि निर्माण गरिएको छ । यस्तै स्मृति भवन वरपर जिल्लाका शहीदका फोटो राखिएको छ भने फूलबारी, प्रतीक्षालयका साथै पानीका फोहोरा समेतले पार्कलाई आकर्षक बनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top