होमपेज / राजनीति
पर्सा । प्रदेश २ सरकारका मुख्यमन्त्री लगायतका मन्त्रीहरू संविधान दिवस नमनाइइत्तर कार्यक्रममा सहभागी भइरहेको समयमा मधेश आन्दोलनको मुटु पर्सामा भने भव्य रूपले संविधान दिवस मनाइएको छ। मधेश आन्दोलनको मुटु पर्साको वीरगन्जमा संविधान दिवस मनाइरहेको समयमा प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीलगायतका मन्त्रीहरू भने जनकपुरमा संविधान दिवसइत्तर कार्यक्रममा सहभागी भएका छन्।
संविधानको धारा, उपधारमा नै टेकेर सत्ताभोग र अर्थलाभमा प्रदेश २ सरकारका मन्त्रीहरू बने पनि उनीहरू भने ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा, राष्ट्रिय बहस र मन्थन २०७६' को कार्यक्रममा अल्मलिएका छन्। संविधान निर्माण भई त्यही संविधानअन्तर्गत सत्ताभोग गरिरहेका मधेशवादी दलको नेता कार्यकर्ता भने बल्ल यो संविधानको राष्ट्रिय बहस र मन्थनमा जुटेका हुन्।
यता पर्सामा संविधान दिवस मनाउनेहरू भने ठूलो संख्यामा वीरगन्जको घण्टाघर छेउको बिपी उद्यानबाट र्यालीमा सहभागी भई वीरगन्ज नगरको परिक्रमा पछि सोही ठाउँमा पुगेर सभामा सहभागी भएका छन्। र्यालीमा नेकपाका नेता कार्यकर्ता र नेपाली कांग्रेसका नेता कार्यकर्ता आफ्ना झण्डासहित सहभागी भए। स्थानीय विभिन्न शैक्षिक संस्थामा आबद्ध शिक्षक, विद्यार्थी, वित्तीय संस्थामा आबद्धदेखि सर्वसाधारण र कर्मचारी तथा सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो।