होमपेज / राजनीति

प्रधानमन्त्री ‌ओली र सभापति देउवा मध्ये कसले पहिला सम्बाेधन गर्ने

नेपाल गाथा २०७६ असार ३ गते मंगलबार १२:५९:३९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला सम्बाेधन गर्ने कि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा बोल्ने भन्ने विषयमा विवाद भएपछि मंगलबार बिहानको संसद बैठक स्थगित भएको छ। सामान्यतया प्रधानमन्त्रीले बोल्नका लागि समय माग गरेपछि उनलाई मात्र बोल्न दिने यसअघिको संसदीय अभ्यासलाई नै सभामुखले लागु गर्न खोजेपछि का‌ंग्रेसका सा‌ंसद रोस्टम नै घेर्न पुगेका थिए ।

नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री अघि समसामयिक विषयमा कुरा राख्नका लागि समयको माग गरे पनि प्रधानमन्त्री ओलीलाई मात्रै समय दिइएकोले कांग्रेस सांसदहरु विरोधमा उत्रिएको दाबी कांग्रेस सांसद बालकृष्ण खाँडको थियो। 'हामीले सभामुखलाई बिहानै शेरबहादुर देउवा बोल्नुहुन्छ भनेर समय माग गरेका थियौं। तर, उहाँले प्रधानमन्त्रीले बोल्नुहुन्छ भन्दै समय दिनु भएन,' उनले भने, 'उहाँहरुले प्रतिपक्षको बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने काम गर्नुभएको छ।'

यस्तै नेकपाका सांसद योगेश भट्टराईले कांग्रेसले आफूलाई संसदीय पार्टी भनेर दाबी गरे पनि संसदीय मर्यादाको ख्याल भने नराखेको टिप्पणी गरे। 'प्रधानमन्त्री, मन्त्रीहरुले बोल्न समय माग गरेपछि उहाँहरुलाई समय दिनै पर्छ र हामीले सुन्नुपर्छ,' उनले भने। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधन पछि विपक्षी दलका सा‌ंसदहरुलाई बाेल्न समय दिने बताए पनि उनीहरुले नाराबाजी जारी राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top