होमपेज / राजनीति

नेकपामा जिम्मेवारी बाँडफाँटमा लफडा सुरु

नेपाल गाथा २०७६ जेठ १९ गते आइतबार ०७:५१:३७ मा प्रकाशित

काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले एकताको बाँकी काम टुंगो लगाउन शीर्ष नेता तयारीमा जुटेका छन् । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुंगो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँटमा लफडा सुरु भएको छ ।

पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभाग गठन अझै टुंगो लागेको छैन । जिल्ला इन्चार्ज, सहइन्चार्ज र विभागको नेतृत्व टुंगो लगाउने विषयमा पार्टीभित्र विवाद देखिएको छ ।

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएको थियो । महत्वपूर्ण एवं जटिल काम टुंगो लागे पनि विभाग, स्थानीय तह, पोलिटब्युरो कमिटी तथा केन्द्रीय सदस्यको कार्य विभाजन गर्न सकस भएको छ ।

पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनसहित संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचारप्रसार विभाग र आर्थिक विभागमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा शीर्ष नेताबीचमै विवाद छ ।

पोलिटब्युरो गठनसहित जिम्मेवारी बाँडफाँट गर्ने भनेर आज (आइतबार) बोलाइएको सचिवालय बैठक तयारी नपुगेका कारण स्थगित भएको छ । नेकपा स्रोतका अनुसार शीर्ष नेताहरुकै बीचमा कुरो मिलाउन बाँकी छ । आइतबारको बैठक स्थगित गरी सोमबार सचिवालय बैठक बोलाइएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच जिम्मेवारी बाँडफाँटका विषयमा छलफल जारी छ । शीर्ष नेताबीच सहमति भएपछि सचिवालय बैठक सोमबार बस्ने र त्यही बैठकबाट टुंगो लाग्ने एक नेताले बताए ।

७७ वटै जिल्लाको अध्यक्ष र सचिव टुंगो लागे पनि इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउनमा शीर्ष नेतृत्वबीच रस्साकस्सी चलिरहेको नेकपा स्रोतको दाबी छ । राजधानी दैनिकबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top