होमपेज / राजनीति

भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन ‘ब्रेक थ्रू’ कार्यक्रम सम्पन्न

नेपाल गाथा २०७६ बैशाख ४ गते बुधबार १७:४३:१५ मा प्रकाशित

सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ‘ब्रेक थ्रू’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कामका लागि अब नर्या नीति र प्रणालीको आवश्यक रहेको यो ‘ब्रेक थ्रू’ ले स्पष्ट पारेको मात्रै छैन उदाहरण पनि बनेको छ। यद्यपि, प्राकृतिक स्रोत साधनको उपभोग गर्ने सन्दर्भमा प्रदेशहरू बीच असमझदारी बढ्ने संकेत भेरी-बबई सुरुङको ‘ब्रेक थ्रू’ कार्यक्रममा देखिएको छ।

राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रू गर्ने कार्यक्रममा नै प्रदेश ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीबीच स्वामित्व र भोगाधिकारका सवालमा छेडछाड भएको छ। यो आयोजनाबाट कर्णाली प्रदेशमा रहेको भेरी नदीको पानी सुरुङका माध्यमबाट प्रदेश ५ को बबई नदीमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ गरिन्छ।

आयोजनाबाट उत्पादन हुने ४८ मेघावाट विद्युत् राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ। कर्णाली प्रदेशले आयोजनाको लाभ कर्णालीले पनि पाउनु पर्ने बताउँदै आएको छ। ब्रेक थ्रू कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण हुनुमा बर्दियाबासीको भूमिका महत्त्वपूर्ण भएको भन्दै प्रशंसा गरे।

साथै मुख्यमन्त्री पोखरेलले कर्णालीमा भोकमारी भए बर्दियाले खाद्यन्न उपलबध गराउने बताए। तर, कर्णालीले अरू कुनै लाभ लिने बारेमा केही बोलेनन्। पोखरेलले यसो भनिरहँदा कर्णालीलाई माग्नेको दर्जामा राखेको भन्दै केहीले कुरा पनि काटिरहेका थिए। पोखरेलपछि मन्तव्य राखेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोजनास्थल कर्णाली प्रदेश नै भएकाले कर्णाली प्रदेशले विशेष लाभ पाउनु पर्ने बताए।

उनले प्रदेश-५ का मुख्यमन्त्रीले खाद्यान्न उपलब्ध गराउने कुरामा घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरे। शाहीले भने ‘चामल त दिन्छु भन्नू भयो तर भाउ चाही नबढाउनु होला, आकाश नपुर्‍याउनु होला।’ मुख्यमन्त्री शाहीले आयोजना प्रभावित क्षेत्रका जनतालाई लालपूर्जा दिनुपर्ने कुरा मात्र गरेनन्, आयोजनाबाट उत्पादन हुने ४८ मेघावाट विद्युत् उपहारस्वरूप कर्णाली प्रदेशलाई दिनु पर्ने माग गरे।

उनले भने, ‘आर्थिक रूपमा कम्जोर कर्णालीलाई सबल बनाउनको लागि कर्णालीलाई यो आयोजनाबाट उत्पादन हुने ४८ मेघावाट विद्युत उपहार स्वरुप कर्णालीलाई दिन आग्रह गर्दछु।’ तर, त्यसपछि बोलेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी-बबई आयोजनाबाट निस्कने ४८ मेघावाट विद्युतमा ४९ प्रतिशत शेयर प्रदेश ५ र कर्णालीका जनतालाई वितरण गरिने बताए। तर, उनले कर्णालीका मुख्यमन्त्री शाहीको विद्युत् कर्णालीलाई दिनुपर्ने कुरालाई नजरअन्दाज गरिदिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top