ट्रेण्डिङ

होमपेज / राजनीति

होलीमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

नेपालगाथा २०७५ चैत्र ६ गते बुधबार ०८:२१:३४ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सबै नेपालीहरुमा होलीको शुभकामना दिएका छन् । छुट्टाछुट्टै सन्देश जारी गर्दै उनीहरुले आपसी सद्भाव र राष्ट्रिय एकतालाई होलीले अझै बलियो बनाओस् भन्ने कामना गरेका छन् । राष्ट्रपति भण्डारीले होली पर्वले सबै नेपालीबीच सामाजिक सदभाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गर्नु भएकाे छ।

होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले होलीको शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीमा सुख, शान्ति, सदभाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।

उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले सप्तरंगी जस्तै रंगीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सदभाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु ।’ हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top