ट्रेण्डिङ

होमपेज / राजनीति

बाँके बर्दियालाई कर्णालीमा गाभ्न वृहत अभियान

नेपालगाथा २०७५ चैत्र ४ गते सोमबार १२:४०:२१ मा प्रकाशित

सुर्खेत । बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नका लागि राजनीतिक दल समर्थनसहितको सर्वपक्षीय वृहत अभियान चलाउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन । बाँके र बर्दिया जिल्ला कर्णालीमा गाभिए सिंगो प्रदेश सबैभन्दा सक्षम र सम्पन्न प्रदेश बन्नसक्ने बलियो सम्भावना रहेको भन्दै यथाशीघ्र अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको हो ।

सुर्खेत उद्योग वाणिज्य संघ र कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीबीच आइतबार वीरेन्द्रनगरमा भएको अन्तरक्रियात्मक छलफलमा सहभागी दुबै संघका प्रतिनिधिहरुले यस्तो आवश्यक्ता औंल्याएका हुन ।सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले नागरिकस्तरबाट आन्दोलन र अभियान थालिएपनि राजनीतिक समर्थन नभएसम्म सफल नहुने भन्दै पहिला राजनीतिक समर्थन जुटाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

साविकका भेरी, कर्णाली र राप्तिका तीनवटै जिल्लाका उद्योग वाणिज्य संघहरुको पहलमा पहिला सर्वपक्षीय छलफलको आयोजना गरी समर्थन जुटाउनुपर्छ, उहाँले भन्नुभयो, त्यसपछि आवश्यक्ताअनुसार दबावमूलक अभियान सञ्चालन गर्नुपर्छ ।अव्यवहारिक रुपमा खिंचिएको प्रदेश विभाजनको सिमानाले दुईपक्षीय भावनात्मक सम्बन्धलाई कमजोर बनाउन नसक्ने भन्दै अध्यक्ष रावतले साझा समस्या र साझा सवालमा एकमुख एकजुट हुुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कोहलपुरका अध्यक्ष चक्रबहादुर अधिकारीले साविकका एउटै अञ्चलमा रहेका बाँके बर्दिया र सुर्खेतबीच व्यपारिक सम्बन्ध मात्र नभई साँस्कृतिक र पारिवारिक सम्बन्धपनि रहेको उल्लेख गर्दै कर्णालीमै रहने आफुहरुको प्रबल ईच्छा र स्पष्ट धारणा रहेको जिकिर गर्नुभयो । 

विगतमा संघीय संरचनाको नक्शांकन गर्दा नै विरोध र आन्दोलन गरी सुर्खेतमा भएको आन्दोलनमा ऐक्यवद्धता जनाउनुपर्नेमा बाध्यतावश त्यसो गर्न नसकिएपनि अब आन्दोलनको आँधीवेहरी सिर्जना गर्ने उहाँको भनाई छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का सदस्य नरेन्द्र शर्माले आपसी समस्या र साझा सवालहरुमा बेग्लै प्रदेश बेग्लै जिल्ला भनेर हात बाँधेर बस्न नहुने सुझाव दिनुभयो ।

सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दीपेन्द्र ढकालले पश्चिममा भूरीगाउँ तेलपानी, पूर्वमा सल्यान दांगको सडकका कारण अन्य जिल्लासंगको दूरि छोटिंदै गएको अवस्थामा बाँकेसंग दूरीपनि घटाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो । संघका महासचिव लक्ष्मण कंडेलले पछिल्लो सीमांकनले एकैघरका तीन भाईलाई बलजप्mती छुट्याइएको जस्तो अनुभूति भएको भन्दै अब पहिलेझै एकै परिवारमा समाहित हुने बेला आएको टिप्पणी गर्नुभयो ।

यस्तै कोषाध्यक्ष भद्र भण्डारीले भविष्यमा उद्योगहरुको विस्तार हुने अवस्थामा सुर्खेतलाई दक्षिणी नाकाको आवश्यक्ता पर्ने र बाँके बर्दियालाई छिटोछरितो दैनिक प्रशासनिक कामका लागि सुर्खेत चाहिने भएको हुँदा तत्कालै ठोष निष्कर्षमा पुग्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top