होमपेज / राजनीति
वासिङ्टन । अमेरिकी पूर्वविदेश मन्त्री एवं सन् २०१६ मा डेमोक्रेट पार्टीबाट राष्ट्रपतिकी उम्मेद्वार हिलारी क्लिन्टनले आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागि दाबी नरहने बताएकी छन् । आफू उम्मेद्वार नरहे पनि निर्वाचनमा सक्रियका साथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उनले बताइन् ।
प्रसिद्ध अमेरिकी टेलिभिजन ‘न्युज १२’ द्वारा सोमबार प्रसारण गरिएको अन्तर्वार्तामा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले भनिन्, ‘ म राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्दिनँ तर म सक्रियताका साथ डेमोक्रेटिक पार्टीको पक्षमा प्रचारप्रसारमा लाग्नेछु ।’ देशमा हुने निर्वाचनमा को उम्मेद्वार हुन्छ भन्ने सवाललाई लिएर सोधिने प्रश्नले आफूलाई साँच्चै समस्यामा पार्ने गरेको क्लिन्टनले बताइन् ।
‘ट्रम्प प्रशासनले गर्न नसकेका वास्तविक समस्या र प्रतिबद्धता पूरा नभएका विषयको लामो सूची छ त्यसैले कुनै कुरालाई ग्यारेन्टीसाथ नलिनुस्,’ उनले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका आकांक्षीहरूलाई संकेत गर्दै भनिन् । सन् २०१६ को डेमोक्रेटिक उम्मेद्वार रहेको बेला क्लिन्टन अमेरिकाको इतिहासमै पहिलो पटक महिला राष्ट्रपति बन्ने अनुमान गरिएको थियो ।
तर उनले आश्चर्यजनक रूपमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पराजय भोग्नु प¥यो । न्युज १२ ले के तपाईं भविष्यमा सार्वजनिक पदका लागि पुनः प्रतिस्पर्धा गर्नुहुन्छ भनेर गरेको प्रश्नमा जबाफ दिँदै उनले भनिन्, ‘मलाई लाग्दैन मैले त्यस्तो गर्छु ।’एजेन्सी ।