होमपेज / राजनीति
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन १५ गतेदेखि शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा यही फागुन २३ गते सुर्खेत आइपुग्ने जनाइएको छ । मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिने मुख्य उद्देश्य राखिएको मेची महकाली यात्रा २३ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुग्ने राप्रपा सुर्खेतले एक पत्रकार सम्मेलनको आयोजना गरि राप्रपा सुर्खेतले जानकारी दिएको हो । यही फागुन २३ गते ३ बजे सुर्खेतको पिपलचौतारीमा आमसभाको तयारी भइरहेको छ ।
यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन पत्रकार सम्मेलनमा राप्रपा सुर्खेतका अध्यक्ष मान बहादुर खड्काले बताउनु भयो । यात्राका क्रममा सम्बन्धित जिल्लाका सङ्गठनले आवश्यक समन्वयन र सहयोगमा दुई हजार ८ किलोमिटरको यात्रामा गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब २ सय स्थानमा सभा गरिने बताइएको छ ।
सुर्खेतको पिपल चौतारीमा आयोजना हुने आम सभालाई पार्टी अध्यक्ष कमल थापालगायत केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ भने सुर्खेत आउने क्रममा सुर्खेतको छिन्चुमा समेत कोण सभाको आयोजना गरिएको छ । सनातन हिन्दु राष्ट्र घोषणा गराउने मुख्य लक्ष्य राखेको राप्रपाले राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई बताउँदै उक्त यात्रा संचालन भइरहेको पार्टीका कर्णाली प्रदेश अध्यक्ष धन बहादुर बुढाले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘पार्टीले लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने कार्यक्रम छ ।’ यात्राका क्रममा विभिन्न नदी तथा तीर्थस्थलबाट ल्याइने जल पशुपतिनाथ मन्दिरमा समापनका दिन चढाइनेछ ।