होमपेज / राजनीति
ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका सबैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ । दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका मृतकलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन् । तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेका मन्त्री अधिकारीसहितको हेलिकप्टर पाथीभाराबाट काठमाडौं फर्कनेक्रममा ताप्लेजुङको तारेभीरमा बुधबार दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।