ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारले ल्यायो छुट्टै नयाँ ग्याँस

नेपालगाथा २०७५ माघ २५ गते शुक्रबार १६:०५:५५ मा प्रकाशित

दैनिक जीवनमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको अति प्रज्वलनशील पदार्थ ग्याँसको कारोबार जहाँ पायो त्यहीं अस्तव्यस्त तरिकाले हुने गरेको छ। सरकारले ग्याँसको कारोबारलाई मर्यादित र व्यवस्थित गर्नका लागि ग्याँस बिक्रेता प्रमाणीकरणको अवधारणा ल्याउने भएको छ। अवधारणामा व्यवसायीसँग छलफल भइरहेको आयल निगमका आन्तरिक नियन्त्रण तथा अनुगमन विभागका प्रमुख भानुभक्त खनालले जानकारी दिएछन् ।

ग्याँस बिक्रेता प्रमाणीकरण अवधारणाले ग्याँसको छुट्टै पसल हुनुपर्ने मापदण्ड तोकेको छ। साथै ग्याँस बेच्ने व्यापारी ग्याँस प्रयोगको सम्बन्धमा तालिम प्राप्त हुनेपर्ने छ। ग्याँस पसल सञ्चालनका लागि आवश्यक दर्ता प्रक्रिया पुरा गरी नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बिक्रेता प्रमाणीकरणको प्रमाणपत्र हुनुपर्ने छ ।

ग्याँस विक्रेता प्रमाणीकरणको अवधारणा भित्र ग्याँसको छुट्टै पसल हुनुपर्ने, सम्बन्धित कम्पनीले बिक्रीको अनुमति दिएको हुनुपर्ने, ग्याँसको प्रयोग सम्बन्धमा तालिम प्राप्त बिक्रेता हुनुपर्ने, ग्याँस पसलमा अग्नी नियन्त्रण गर्ने यन्त्र हुनुपर्ने, मूल्य सूची हुनुपर्ने, तराजु हुनुपर्नेलगाएतका मापदण्ड समावेश गरिएको छ । ग्याँसका लागि प्रयोग हुने गुणस्तरीय रेगुलेटर, तारले जेलिएको रबरको पाइप, गुणस्तरीय चुलो, ग्याँस लाइटर ग्याँस पसलमा राख्नुपर्ने छ।

प्रज्वलनशील पदार्थको कारोबार अत्यन्तै अस्तव्यस्त तरिकारले भइरहेकोले यसलाई व्यवस्थित र मर्यादित बनाउन ग्याँस बिक्रेता प्रमाणीकरणको आवश्यक परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिका महानिर्देशक योगेन्द्र गौचनले बताएकाछन् । अहिले ग्याँसका डिलर धेरै भएकाले पनि यसलाई व्यवस्थित गर्न ग्याँस बिक्रेता प्रमाणीकरणको अवधारणा अपनाइएको नेपाल एलपी ग्याँस उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले बताएका छन् ।

ग्याँस व्यवसायलाई व्यवस्थित र मर्यादित गर्न सरकारले ल्याएको ग्याँस सञ्चालनको मापदण्डलाई ग्याँस व्यवसायीले सक्दो सहयोग गर्ने नेपाल ग्याँस विक्रेता महासङ्घका उपाध्यक्ष चन्द्र थापाले बताए। ‘सरकारले हाम्रो निम्ती ल्याएको यस नियमलामई देशभर पूर्णरूपमा कार्यान्वयन गर्नमा हामी ग्याँस व्यवसाय सरकारसँग हातेमालो गरेर अगाडि बढ्ने छौँ’, उपाध्यक्ष थापा बताएका छन् ।

अहिले कतिपय ग्याँस बिक्रेता नै ग्याँसको उपयोग सम्बन्धमा जानकार छैनन्। उपभोक्ताको घरमा ग्याँसबाट उत्पन्न समस्याको विषयमा ग्याँस बिक्रेता जानकार हुनुपर्ने उपाध्यक्ष थापाको भनाइ रहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top