होमपेज / राजनीति
बुटवल । नेपाली कांग्रेस रुपन्देहीले बिहीबार बुटवलमा जनप्रर्दशन तथा खबरदारी सभा गर्दैछ । पार्टीको आधिकारिक निर्णयविना नै कांग्रेस रूपन्देहीले बुटवल प्रदेश पाँचका राजधानी घोषणा गर्न माग राख्दै खवरदारी सभा गर्न लागेको हो ।
कांग्रेस रुपन्देहीले राजधानी माग्दै बुटवलमा गर्न लागेको सभाप्रति पश्चिम क्षेत्रका प्रदेशसभा सांसदहरू असन्तुष्ट छन् । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी घोषणा गरेको एक वर्ष पुगेको अवसरमा खवरदारी सभा आयोजना गरिने कांग्रेस रुपन्देहीले जनाएको छ ।
पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले सर्वसाधारणको उपस्थितिमा खवरदारी सभा गरिने जानकारी दिए । उनले दुई तिहाइ बहुमतको सरकार भएर पनि एक वर्षसम्म राजधानी तोक्ने र नामाकरण गर्ने काम नभएको भन्दै जनस्तरबाट दवाव सिर्जना गर्न लागिएको दावी गरे ।
सभापति रज्जाकका अनुसार खबरदारी सभामा कांग्रेस नेता बालकृष्ण्ण खाँण, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेललगायतका नेताहरुको सम्बोधन गर्ने कार्यक्रम छ ।