होमपेज / प्रबिधि
दैलेख । प्रविधिको विकासले पत्रकारितामा अवरसँगै चुनौती थपिएको पत्रकारहरूले बताएका छन् । प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवसको अवसर पारेर आयोजनामा गरिएको पत्रकारितामा प्रविधिसँगै अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकारहरूले प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा अवसरसँगै चुनौती थपिँदै गएको बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दैलेख शाखाका अध्यक्ष अमर सुनारले मिथ्या सूचनाका कारण नागरिकमा भ्रम पैदा हुने गरेको बताए । प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा चुनौती देखिएको भए पनि परस्त अवसरहरू रहेकाले यसको सही उपयोग गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दैलेख शाखाका पूर्वअध्यक्ष यज्ञराज थापाले सामाजिक सञ्जालमा देखिएका सूचनाको सही विश्लेषण गरी स्रोतको विश्वसनीयताका आधारमा मात्र पत्रकारले समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखेका थिए । यस्तै, महासङ्घका पूर्वअध्यक्ष पुष्कर थापाले प्रविधिको विकाससँगै देखा पारेका अवसरको सही सदुपयोग गर्नुपर्ने विचार व्यक्त गरे ।
प्रेस सेन्टर दैलेखका अध्यक्ष तीर्थ भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल प्रेस युनियन दैलेखका सभापति अभिषेक अनुरागलगायतका पत्रकारहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले प्रविधिको विकासले जुराएका अवसरको प्रयोग गर्दै पत्रकार प्रविधिमैत्री हुनुपर्ने बताए ।