ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

शेख हसिना लगातार बंगलादेशकाे चौथो पटक प्रधानमन्त्री बन्दै

नेपालगाथा २०८० पौष २३ गते सोमबार ११:०९:२१ मा प्रकाशित

बंगलादेशकी शेख हसिना लगातार चाैथाे पटक प्रधानमन्त्री बन्ने भएकी छन् । आइतबार भएकाे विवादास्पद चुनावमा विजयी हुँदै उनी लगातार चौथो कार्यकाल प्रधानमन्त्री बन्न लागेकी हुन् । 

उनकाे पार्टी अवामी लिग र साझेदार दलहरूले २ सय ९९ संसदीय सिटमध्ये कम्तीमा १ सय ५२ सिट जितिसकेका छन् । ३ सय सिट भए पनि एक जना उम्मेदवारको मृत्यु भएपछि त्यहाँकाे  निर्वाचन स्थगित गरिएकाे थियाे । 

बंगलादेशकाे प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीलगायत केही प्रभावशाली दलले याे चुनाव बहिष्कार गरेका थिए । यस कारण हसिनाको पार्टी र सहयोगी दलका उम्मेदवारहरूले बाँकी सिटहरू पनि जित्ने अनुमान गरिएको छ ।

निर्वाचनको नतिजा औपचारिक रूपमा सोमबार घोषणा हुने बताइएको छ । विपक्षीकाे बहिष्कारकाबीच करिब ४० प्रतिशत मतदान भएको सरकारी तथ्या‌ंकले देखाएका छन् । याे तथ्यांकमा बढाइचढाइ गरिएको विपक्षीहरूकाे भनाइ छ ।

आइतबार मतदानपछि  हसिनाले आफूले देशमा प्रजातन्त्र कायम होस् भन्ने सुनिश्चित गर्न सक्दो प्रयास गरिरहेको बताएकी थिइन् । चुनाव विथाेल्न विपक्षीहरूले दुई दिने आमहडताल घाेषणा गरेका थिए । त्यसक्रममा भएका प्रदर्शन, झडपलगायत हिंसात्मक गतिविधिका कारण केही मानिसकाे मृत्यु भएकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top