होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । थाइल्यान्डमा राजतन्त्रको आलोचना गरेको आरोप लागेका तीनजना अभियन्ताहरू भियतनाममा पक्राउ परेपछि बेपत्ता भएको अधिकारवादी समूहहरूले बताएका छन् । थाइल्यान्डका उपप्रधानमन्त्री प्रवित वोङसुवानले ती अभियन्ताहरू थाई हिरासतमा रहेको कुरा नै अस्वीकार गरे । थाई अलायन्स फर ह्युमन राइट्सले यस्तो खबर दिएको थियो ।
चुचीप चिवासुत र उनका सहकर्मीहरू सियाम थीरावुत र क्रित्साना थपथईलाई भियतनाम सरकारले थाई अधिकारीहरूसमक्ष बुधवार बुझाएको ह्युमन राइट्स वाचले एक वक्तव्य जारी गरेर बतायो । एम्नेस्टी इन्टरनेसनलले चुचीपविरुद्ध लामो समयदेखि राजतन्त्रको अपमान गरेको आरोप लागेको बताएको छ । सियाम र क्रित्सानालाई पनि राजतन्त्रको अपमानका लागि प्रहरीले अनुसन्धान गरिरहेको एम्नेस्टीको भनाइ छ ।
थाइल्यान्डको फौजदारी संहिताको धारा ११२ ले राजा, रानी, युवराज कसैको पनि अपमान गर्दा १५ वर्षसम्मको कारावास सजाय भोग्नुपर्ने व्यवस्था गरेको छ ।मानवअधिकार समूहहरूले थाइल्यान्डको सत्तारूढ सैनिक सत्ताले सन् २०१४ को सैन्य कूपछि यो कानूनलाई व्यापक रूपमा लागू गरेर आलोचकहरूलाई चुप लगाउन थालेको आरोप लगाएका छन् । द गार्डियनबाट ।