ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

थाइल्याण्डका राजा महाभाजिरालंकर्णले लगाए सात किलोको सुनको मुकुट

नेपालगाथा २०७६ बैशाख २२ गते आइतबार १२:००:५९ मा प्रकाशित

थाइल्याण्डका राजा महाभाजिरालंकर्णले राज्यभिषेक गरेका छन् । २० वर्षको उमेर उत्तराधिकारी घोषित भएका उनलाई राजगद्दीमा बस्न ४४ वर्षसम्म कुर्नुपर्‍यो। सन् २०१६ मा पिता भूमिबोल अदुल्यादेजको निधन भएपछि उनी राजा भएका हुन्। थाइल्याण्डका हालसम्मकै लोकप्रिय राजा अदुल्यादेजले ७० वर्ष शासन गरे। उनको मृत्यु हुँदा उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रप्रमुख थिए। लोकप्रिय राजाको शोकमा रहेका कारण राजगद्दीमा बसेको करिब तीन वर्षपछि महाभाजिरालंकर्णलाई शनिबार राज्याभिषेक गराइएको छ।

पवित्र जल राजाको शिरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा अनुसार जल सेचन गरेर उनलाई राज्याभिषेक गराइएको हो। तीनदिने राज्याभिषेक समारोहको पहिलो दिन बैंककस्थित ग्राण्ड प्यालेसमा आयोजित शाही शुद्धीकरण समारोहमा उनले ७‍.३ किलो सुनको मुकुट लगाएका हुन्। मुकुटलाई ‘ग्रेट क्राउन अफ भिक्ट्री’ भनिन्छ। उनी चाक्रीवंशीय १०औँ राजा हुन्।

भाजिरालंकर्णले अप्रत्यासित रूपमा केही दिनअघि आफ्नो सुरक्षा दस्ताकी उपप्रमुख सुथितासँग विवाह गरेको घोषणासहित महारानी उपाधि दिएका थिए। भाजिरालंकर्ण थाइल्याण्डका लोकप्रिय राजा अदुल्यादेज र रानी सिरिकिटको दोस्रो सन्तानका रूपमा १९५२ को जुलाई २८ मा जन्मेका हुन्। उनले थाइल्याण्ड, बेलायत, अमेरिका र अस्ट्रेलियामा सैन्य तालिम लिएपछि केही समय थाई सेनामा कार्य गरे।

लडाकु तथा साधारण जहाज चलाउने सक्ने भाजिरालंकर्णले विदेश भ्रमण जाँदा आफैले बोइङ ७३७ उडाउँछन्। थाइल्याण्ड संवैधानिक राजतन्त्रात्मक मुलुक भए पनि राजा निकै शक्तिशाली हुन्छन्। थाइल्याण्डमा शाही परिवारको आलोचना गर्न नपाउने कानुनका कारण राजतन्त्र अस्वीकार गर्न असम्भव जस्तै छ।  एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top