होमपेज / अन्तराष्ट्रिय
पोखरा । नेपालभित्र निर्माणाधीन अधिकांश योजनाको निर्माण तोकिएको समयभन्दा ढिला हुने गरेको विकृतिबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भने निर्धारित समयअघि नै निर्माण सम्पन्न हुने गरी तीब्रताका साथ निर्माण भइरहेको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ । सन् २०२१ जुलाई १० सम्म निर्माण सक्नुपर्ने सम्झौता भएपनि तोकिएको समयसीमाभन्दा ६ महिनाअघि नै सक्ने गरी युद्धस्तरमा काम भइरहेको जनाइएको छ ।
चीन सरकारको स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका साइड म्यानेजर मिस्टर झुले युद्धस्तरमा काम भइरहेको बताए । ‘विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम तीव्र गतिमा भइरहेको छ,’ ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकारी कृष्ण चापागाईंले भने, ‘हाल चिनियाँ १ सय र नेपाली ३ सय जना मजदूर गरी ४ सय जनाले काम गरिरहेका उनले बताए ।
सबैभन्दा धेरै समय लाग्ने महत्त्वपूर्ण २० प्रतिशतभन्दा धेरै काम १ वर्षमै सम्पन्न भइसकेकाले समयसीमाभन्दा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने उनले बताए । सन् २०१७ को नोबेम्बरदेखि विमानस्थलको निर्माण शुरू भएको हो । सन् २०१९ भित्र ६० प्रतिशतभन्दा बढी काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको साइड म्यानेजर झुले बताए ।
विमानस्थल निर्माण छिटो सम्पन्न गर्ने नाममा गुणस्तरमा सम्झौता नहुने समेत उनले बताए । अहिले रनवेको तेस्रो लेबलको काम अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए । ‘१ महिनाभित्र थर्ड लेबलको काम सबै सकिने र सन् २०१९ को ६ महिनाभित्र रनवेको सम्पूर्ण काम सकिने गरी काम भइरहेको छ,’ उनले भने । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सिमेन्ट, बालुवा प्रयोग गरी विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ ।
विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्ने छ । ८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुनेछ । अर्को छुट्टै टर्मिनल भवन पनि निर्माण गरिने नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । सन् २०२१ को जुलाईसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सकेर सञ्चालनमा ल्याउने गरी निर्माण तालिका बनाएर काम अघि बढेको छ ।
पोखरा महानगरपालिका–१० र १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम थालेको हो । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । झण्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ ।
अन्तर्राष्ट्रिय उड्ड्यन संस्था (आईकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २ हजार ५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ ।