ट्रेण्डिङ

होमपेज / विचार

हजुरआमा, मेरी आमा र मेरो महिनावारीको अनुभव

दीपा पौडेल

नेपालगाथा २०७७ जेठ १५ गते बिहीबार २२:३९:३७ मा प्रकाशित

मे २८ का दिन अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस मनाउन थालिएकाे जुन २०१४ देखि हाे । याे वर्ष पनि 'महिनावारीका कुरा मर्यादा केन्द्रित भएमात्र हुन्छ पूरा' भन्ने नाराका साथ विश्वभर याे दिवस काेराेना भाइरसका कारण सामान्य रुपमा मनाइएकाे छ । 

यही महिनावारीका सन्दर्भमा मेरी हजुरआमा मेरी आमा र मेराे महिनावारीकाे अनुभवलाई शब्दमा उतार्ने प्रयास गरेकी छु ।

महिनावारी स्वछन्दता दिवस, मे २८ मनाइरहँदा विगतदेखि अहिलेसम्म आइपुग्दा हजुरआमा, मेरी आमा र मेरो महिनावारीको अनुभवले केही फरक अनुभव गरेकी छु । तर पनि देशका विभिन्न ठाउँमा काम गर्ने क्रममा महिनावारी सम्बन्धी विभिन्न घटनाहरु देखेको, सुनेको तथा आफैले अनुभव गरेको हुँदा अझै पनि मर्यादित महिनावारीको कमी भएको महशुस गरेकी छु ।
मेरी हजुरआमा १२ बर्षमा महिनावारी हुनुभएको थियो । त्यो पनि विवाह गरेर घरमा आएपछि । जतिबेला पहिलो पटक महिनावारी हुँदा २२ दिन बार्नु पथ्र्यो । त्यति बेलाको चलनअनुसार पहिलो पटक महिनाबारी हुँदा २२ दिनसम्म उहाँले घरमा भएका कोही पनि पुरुष सदस्यको अनुहार हेर्नु भएन । पहिलो पटक महिनावारी हुँदा आफ्नो घरको धुरी हेर्नु हुँदैन भन्ने प्रचलन भएकोले आफ्नो घरमा नबसी फुपु सासुकोे घरमा गएर बस्नुभएको थियो । बिहान उज्यालो नहुँदै चिसो पानीले नुहाउनु पर्दथ्यो, त्यो पनि जाडो मौसममा । साथै दैनिक रुपमा आफुले ओछ्याएका लुगाहरु पनि धुनु पर्दथ्यो । त्यस समयमा लुगा धुने साबुन प्रशस्त नपाईने हुनाले महिनावारी हुँदा प्रयोग गरेका टालाहरु पनि रिठा, लेवा, खरानीले धुने गर्नु हन्थ्यो । यसरी धोइएका धोतिका टालाहरु समेत कसैले नदेख्ने ठाउँमा सुकाउनु पर्दथ्यो । खाटमा नसुती भँुइमा सुत्नु पर्दथ्यो । दुध, दही तथा घ्यु खान त के, गाई–भैसीे हेर्न समेत नमिल्ने । २२ दिन पुगेपछि बल्ल उहाँलाई सुन, पानी छर्किएर घरभित्र पस्न दिइएको थियो । निकै कस्टकर अनुभव छ मेरी हजुरआमाको ।
पहिलो पटक महिनाबारी हुँदा मेरी आमाको भने अलि फरक अनुभव छ । आमाले ७ दिनसम्म मात्र महिनावारी बार्नुभएको थियो रे । पहिलो पटक महिनाबारी हुँदा उहाँ घरमै हुनुहुन्थ्यो रे । तर के भयो भनी डराउनुका साथै रुनु पनि भएछ । अनि हजुरआमाले के भयो भनेपछि मात्र सबै कुरा भन्नुभएछ । हजुरआमाले सबै थाहा पाएपछि आमालाई कसैलाई पनि नछुनु भन्नुभएछ र आमाले पनि सोहीअनुसार कसैलाई पनि छुनु भएनछ । आफ्नो घर बाहेक अन्य कसैको घरमा पनि जानु भएनछ । खाटमा नसुती भुँइमा सुत्नुभाको थियो रे । सधै नुहाई आफूले बिछ्याएको लुगाहरु सधै धुनुहुन्थ्यो रे । लामो समयसम्म पनि उहाँको मनमा डर रहेको थियो रे साथिहरुले जिस्काउछन् की भन्ने ।
जब म १३ वर्षको थिएँ, मैले पहिलो पटक महिनाबारीको अनुभव गरे । आफू अध्ययनरत विद्यालयमा रहेको बाल क्लब संजाल तथा सुरक्षित समाजद्घारा संचालित बालिका समुहमा पनि आबद्घ भएकी थिए । यसरी विभिन्न समुहमा आबद्ध हुदाँ बालिकाहरुमा हुने बिभिन्न प्रकारका शारीरिक, मानसिक तथा सामाजिक समस्याहरुका बारेमा मैले केही जानकारी पाएकी थिएँ । साथै विभिन्न कार्यक्रमहरु तथा प्रोत्साहन गतिविधिहरुमा छलफल हुने हुनाले पनि मैले महिनावारी एक प्राकृतिक प्रकृया हो भन्ने जानकारी पाएकी थिएँ । त्यसैले पनि मलाई डर भने लागेको थिएन । सबैभन्दा पहिला मैले यो कुरा घरमा आमालाई भने । त्यसपछि आमाले भान्सामा जानु हुँदैन र यही कोठामा बस्नु भन्नुभएको थियो । म आफू पहिलो पटक महिनाबारी हुँदा ५ दिनसम्म महिनावारी बार्नु परेको थियो तर अहिले भने हाम्रो घरमा त्यस्तो गरिदैंन । तर महिनावारीका बेला बिद्यालय जाँदा भने प्याड कहाँ परिवर्तन गर्ने तथा परिवर्तन गरेको प्याड कहाँ फाल्ने भन्ने समस्या भइरहन्थ्यो । बिद्यालयमा चर्पीमा पानी पनि नहुने अनि सफा पनि नहुने हुँदा विद्यालयको चर्पीमा जान मन लाग्दैनथ्यो । विद्यालय र घर नजिक भएकाले हतार–हतार टिफिनको समयमा घरमै आएर प्याड परिवर्तन गर्दथे । कहिलेकाँही भने विद्यालयको चर्पीमै परिर्वतन गर्दथे र प्रयोग गरेको प्याड झोलामा दिन भरी राख्नु पर्दथियो । प्रयोग गरेको प्याड दिनभर झोलामा राख्दा झोला पनि गन्हाउने गथ्र्यो र साझँमात्र विद्यालयबाट घरमा फर्किएपछि जलाउथे ।
मेरी हजुरआमा, मेरी आमा र मेरो आफ्नो महिनावारीको अनुभवको तुलना गर्दा समाजमा महिनावारीको दृष्ट्रिकोणमा केही सामाजिक परिवर्तन भएको गरेको भए तापनि अझै पनि महिनाबारी मर्यादित भने हुन सकिरहेको छैन । अहिले पनि महिनावारीलाई बार्नुपर्छ, अन्यथा देवी देवता रिसाउँछन् भन्ने धारणा छदैछ । त्यसमा पनि बालिकाहरु महिनाबारीको समयमा विद्याालयमा उपस्थिति नहुने, उपस्थिति भए पनि १÷२ घन्टीमात्र पढेर प्याड परिवर्तन गर्न घर फर्कनुपर्ने वा विद्यालयमा नै प्याड परिवर्तन गरे पनि परिवर्तन गरेको दुषित प्याड दिनभरी झोलामा राख्नुपर्ने बाध्यता छ । त्यसलाई न्युनीकरण गर्न विद्यालय तथा कार्यालयमा उचित सरसफाइ, प्याडको सहज उपलब्धता तथा अन्य आवश्यक व्यवस्था हुनु अहिलेको आवश्यकता हो । साथै घरमा पनि महिना बारीको समयमा उचित हेरचाह, सरसफाई र पौष्टिक आहारको आवश्यकता पर्दछ । 

महिनाबारीको समयमा स्वछन्दतामा प्रयाप्त ध्यान दिउँ घरपरिवार, समुदाय, विद्यालय र कार्यालयमा समेत उचित ब्यवस्थापनमा ध्यान दिऊँ । महिनावारी हुँदा चिन्तित नभई खुशी हुने गरौ । साथै यो एक प्राकृतिक, प्रजनन्, नियमित प्रक्रियाका साथै एक महिलाको लागि गौरवको कुरा हो भन्ने बुझौं र बुझाउँ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top