होमपेज / समाज
काठमाडौं । साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । आज बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ ।
आज(मंगलबार) साँझदेखि पहिलो चरणमा काठमाडौं उपत्यकाको लगनखेलदेखि बुढानीलकण्ठसम्म, बुढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टदेखि थानकोटसम्मको रुटमा साझा यातायात मार्फत रात्रिकालिन विद्युतीय बस सेवा सञ्चालनको शुभारम्भ हुँदैछ । हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेगरी समय तालिका मिलाइएको छ । दक्षिण रुटअन्तर्गत लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै बुढानीलकण्ठसम्म बस सञ्चालन हुनेछ ।
त्यस्तै, बुढानीलकण्ठबाट फर्किने बस महाराजगञ्ज, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली हुँदै लगनखेल पुग्नेछ । पूर्व–पश्चिम रुटमा थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, बानेश्वर हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म बस सञ्चालन हुनेछ । फर्किने बस विमानस्थलबाट तीनकुने, मीनभवन, बबरमहल, थापाथली हुँदै पुनः थानकोट पुग्नेछ। नयाँ सडक क्षेत्रलाई मुख्य ट्रान्जिट बिन्दु बनाइनेछ, जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन् ।
यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा ४ वटा सीसीटिभी क्यामेरा जडान गरिनेछ भने काठमाडौं महानगरपालिकाले प्रत्येक बसमा एक जना नगर प्रहरी खटाउने बताएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार प्रारम्भिक ३ महिना सेवा सञ्चालनपछि यसको प्रभाव मूल्याङ्कन गरी थप सुधार र विस्तार गरिनेछ ।
रात्रिकालीन बस सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने वर्गलाई सुरक्षित र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।