ट्रेण्डिङ

होमपेज / समाज

देशभर दोस्रो आर्थिक गणना सुरु

नेपालगाथा २०८३ बैशाख २ गते बुधबार १०:०४:२४ मा प्रकाशित

काठमाडौं । आज(बुधबार) देखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले बताएको छ ।

कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ ।

गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिनेछ । त्यसक्रममा देशभर दर्ता भए र नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिनेछ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top