होमपेज / विचार
(मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय अङ्ग्रेजी शिक्षाका उपप्राध्यापक एवं बहुआयामिक व्यक्तित्व बिष्णुकुमार खड्काको २०७६ सालमा भोगेका र अनुभव गरेका दिनहरुलाई उहाँले शब्द र तस्वीरमा उतार्नु भएको छ । हामीले उहाँका अनुभवहरुलाई उहाँकै शब्दमार्फत पाठक समक्ष पुर्याउने प्रयास गरेका छौ । उहाँका अनुभुतिहरु आजदेखि दैनिक बिहान ८ बजे प्रकाशन भइरहेका छन् ।)
बादलमुनिको कम्युन (नियात्रा : क : २०७६ असार ६)
असारको महिना । त्यसै पनि कामको चटारो । किसानलाई खेतीपाती लगाउनको चटारो । अफिसवालालाई बिल भरपाई मिलाउनको चटारो । व्यापारी व्यवासायीलाई असुली र तिरनतारनको चटारो । शिक्षकलाई बर्षे विदा मिलाउनको चटारो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयवालालाई हरेक असार ३ मा बार्षिकोत्सव मनाउने चटारो । म परे विश्वविद्यालयवाला । त्यसमा पनि सचिवालयवाला । चटारोमाथी उपरवाला चटारो । घरी के मिलाउन पर्ने घरि के । एकपछी अर्को । अर्को पछि फेरि अर्कोको लर्को । झन त्यसैमाथि थपियो टिसर्टवाला चक्कर । चक्करमाथी झन घनचक्कर । असार ३ को महा घनचक्कर १८ पौन्डको घनले ठोकेर भए पनि सफलतापुर्वक सम्पन्न भयो ।
यो असार अलि भाग्यमानी असार भएर आएको थियो मेरा लागि । म फुरुङ्ग थिए । कौतुहलता र खुल्दुलीले मनमा तरङ्ग उत्पन्न गराएको थियो । इटालीको युनिभर्सिटी अफ टुसिया र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विचमा इरासमस मण्डस परियोजना सङ्युक्त रूपमा गर्ने गरि काम भइरहेको थियो । यस अघि विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइराला , नि. रजिस्ट्रार यम बहादुर कार्की, डीन डा. मस्त बहादुर गरङ्जा , सह प्रमुख पुर्ण बिसि, र यो कार्यक्रमको चाजोपाजो मिलाउने प्रकाश शर्मा सर सहितको टोलि उक्त विश्वविद्यालयको निमन्त्रणामा पुगेर फर्किसक्नु भएको थियो । उक्त परियोजनाको मर्म अनुसार फ्याकल्टी भिजिटिङ पनि रहेको थियो । मेरो सौभाग्य म पनि एक जना छानिएको थिए । भिसी सरले उताबाट आउना साथ तपाईंको भिसामा समस्या छ भनेपछि मेरो आशा ओइलाउन थालेको थियो । यस अघि यस्तै कार्यक्रम ग्रीसको पेनोपोलिस युनिभर्सिटीसङ्ग हुँदा त्यो कार्यक्रममा पनि निमन्त्रणा आएर सबै फाइनल भएपछि भिसाको कारण काठमाडौंबाट म, लक्ष्मण सर र यज्ञ सर फर्केका थियौं भने यदु सर मात्र जानुभएको थियो । यस पटक पनि व्याथा बल्झिने डर भयो । आफ्नो तर्फबाट कुनै कसर बाकी नराखेर लेखी पठाएको भिसी सरले भनेपछि आश लागेको थियो । काठमाडौंबाट फर्किने रोग लागेकोवाला न परे । तैपनि तयारी पुरा गरेर म सहित ई. अनन्तराज घिमिरे सर, अर्जुन अएडि सर, यदु ज्ञवाली सर र रबिन मल्ल गरि ५ जनाको मिसन इटाली जाने पक्कापक्की भयो । काठमाडौं पुगेपछि प्रकाश शर्मा सर सहित टुसिया युनिभर्सिटीकै प्राध्यापक पावेलसङ्ग भेटियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबैको जमघट भयो । असार ६, २०७६ साझ ।
अनन्त सरको आगमन सङ्गै यात्रा उक्लिने भयो । उहाँलाई बिदाई गर्न आएको साथिले हामीलाई पनि एक एक वटा राता खादा ओडाइदिए । हामी सबै राता मान्छेमा रुपान्तरण भयौं । फुलेर गमक्क हात मिलाइयो । फोटा खिचाइयो । हात झट्काएर बाई गरियो । औपचारिकता पुरा गरेर छिरियो । इटिहाटको जम्बो जेटभित्र । आभुदाबी ट्रान्जिटको लागि । फोटो खिचाइयो । हालियो फेसेमा । यसो गर्नमा मेरै दक्खल थियो । मेरो नशा पनि यहि फेसे हो । म फसेको पनि यसैमा हो । मेरो दैनिकी रेकर्ड गर्ने पनि यहि फेसे हो । त्यसकारण मै जुटे । हालियो फेसेमा फोटा । लेखियो स्ट्याटस । आए लाइक र कमेन्टको ओइरो ।

यात्रा आकासियो । परिकल्पनाका क्षितिजहरु झनै आकासिए । यसो यताउती फर्केर हेरे । आधा भन्दा बढी नेपाली युवा युवति। मानसपटलमा अनेकन तस्वीरहरु नाचिरहे । मुलुक समृद्धि र विकासको महाअभियानमा छ । यिनै युवाले ठुलो राजनीतिक क्रान्ति सम्पन्न गरे । राजतन्त्र फ्याके । जनयुद्ध लडे । गणतन्त्र ल्याए । संविधान सभाबाट संविधान बनाए । संघीयता ल्याए । दुई तिहाईवाला एक शक्तिशाली कम्युनिष्टहरुको स्थायी सरकार बनाए । गाउँ गाउँमा सिंहदरबार ल्याए । सिंहहरु जन्माए । हुन त मुलुकमा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि छ । अझै युवा वाहिरिदै छन । पढ्न गएका हुन भने विश्वविद्यालयहरु पनि खोलेकै छौ ।
पल्लो छेउमा एक जना युवती सुक्सुकाउदै गरेको देखियो । अढाई बर्षको सानो छोरो घरमै छोडेर साउदीमा कामको लागि होमिएकि रैछिन । अर्को युवक टोलाएर झोक्राएको देखे । भर्खरै विहे गरेकी जिवन साथिलाई एक्ल्याएर घरबारको खरखजना जोहो गर्न हिडेका रैछन । एक जना अर्को युवा पढ्दै कमाउने उद्देश्यले बैंकको रिनमा अस्ट्रेलिया हानिएका रहेछन् । कोहि कुवेत, कोहि साउदी , कोहि अमेरिका त कोहि अष्ट्रेलिया । सबैका आ आफ्नै परिवेश छन । आ आफ्नै वाध्यता र विवशता छन ।
जेट र जवानिको जिक्री क्या जब्बर छ है । जन्म र मृत्यु बिचको यो अवधि पनि कति अत्यास लाग्दो छ है । म घोत्लिन्छु । सानो सपना साउदी र ठूलो सपना अमेरिका आज युवामा हामी किन जन्माइरहेका छौ ? म आफैलाई प्रतीप्रश्न गर्छु र नाजवाफ हुन्छु । "जबसम्म हाम्रो शासन र शिक्षामार्फत मुलुकमै युवाहरूलाई विकास र समृद्धिमा सामेल गराउन सक्दैनौं तबसम्म सुखी नेपाली समृद्ध नेपाल सपनामा सिमित हुन्छ ।" म निष्कर्ष निकाल्दै नियाल्छु ।
कल्पनाको महासागरमा डुबुल्की मार्दै हराइरहेको थिए । जेटको झ्याल बाहिर नियाले । आखाले भ्याउने दृष्यभरी निलो आकासलाई परिदृष्यमा राखेर सेतो बादलको साम्राज्य फैलिरहेको थियो । बतासको बेगमा आफ्नो राज्य विस्तारको अभियान जारी राखेको थियो । हेर्दाहेर्दै बादलले समथर फाट भएको तराईको भूगोल कब्जा गर्यो । पहाड र हिमाल पनि काबुमा लियो । थरीथरीका आकार प्रकारमा हिमाल र पहाडहरु ठडिए । लोभलाग्दो समथर फाट झन फैलिदै गयो । मेरो मानसपटलको ग्लोबमा एक नयाँ मुलुक थपियो ।
मेरो परिकल्पनाको कद बढ्दै गयो । बादलभित्रको त्यो नयाँ मुलुकको हिमाल पहाड र तराईमा बस्ती बसाल्छु । नयाँ मुलुकको नयाँ संरचना कोर्छु । नयाँ मुलुकमा नयाँ शासन व्यवस्था स्थापना गर्न निर्वाचन हुन्छ । म चुनावी दौडमा होमिन्छु । योजना र कार्यक्रम पेश गर्छु । जनताले अनुमोदन गर्छन् । परिणाम आउँछ । म र मैले नेतृत्व गरेको दललाई मुलुक संरचनाको स्पष्ट म्यान्डेट आउँछ । म नयाँ मुलुकको बागडोर सम्हाल्न पुग्छु ।
सत्ता सम्हालेकै दिन सम्पूर्ण जमिन राज्यको घोषणा गर्छु । जग्गा जमिन राज्यको हुन्छ । कसैसङ्ग पनि निजि सम्पती हुनेछैन । जे हुनेछ सबैको साझा हुनेछ । राज्यको हुनेछ । राज्य जनताको हुनेछ । हरेक बालिग नागरिकलाई राज्यले खाद्यन्न, आवास, रोजगारी, सबैलाई नि:शुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, यातायात सेवा आदि अनिवार्य रूपमा उपलब्ध गराउनेछ । हरेक नागरिकले १६-१८ बर्षको उमेरमा २ वर्षको आत्मसुरक्षा सैनिक शिक्षा लिनेछन् । राज्यले निजि र सहकारी क्षेत्रको सङ्ग्लनतामा उद्योगधन्दा, कल कारखानाहरू खोल्नेछ । कृषिका पकेट क्षेत्र घोषणा गरेर निर्वाहमुखी भन्दा निर्यातमुखी र बजारमुखी कृषि नीति अबलम्बन गर्नेछ ।
सबैले अनिवार्य रूपमा आधारभुत तहको साक्षरता शिक्षा र सीप र उद्धमशिलतामा आधारित माध्यमिक तहको स्वरोजगार र व्यवासाय उन्मुख श्रम शिक्षा लिनैपर्ने नीति बनाउने छ भने बिज्ञतामा आधारित बिशिष्टिकृत उच्च शिक्षाका अब्बल केन्द्रहरु स्थापना गरि विश्वकै अनुसन्धानकर्ता र अध्ययताहरुलाई आकर्षण गर्ने नीति लागू हुनेछ । भौतिक संरचनाहरु जस्तै सडक, विद्युत, खानेपानी, सिचाइ, निर्माण आदिमा राज्यको अगुवाइमा हुनेछन् । यस्ता विकास निर्माणका काममा जनता र सेना प्रहरी सहितको सङ्लग्नता हुनेछ । आन्तरिक तथा वाह्य पर्यटकहरु लोभ्याउने मौलिकता र प्राकृतिक स्रोत-साधनमा आधारित पर्यटकिय गन्तव्यहरु बनाइनेछ । उक्त क्षेत्रमा पुग्न भौतिक पुर्वाधार र बसाई लम्ब्याउन सेवा सुविधा र हस्पिट्यालिटीको प्रवन्ध हुनेछ । हामीसङ्ग कुनै जात र वर्ग हुनेछैन । हुनेछ त केवल सभ्य र सुस्कृत मानव जाति हुनेछ । यस्तै अनेकन तरङ्गहरु खेलाउदा खेलाउदै भुसुक्क निदाइएछ । आबुदाबी गएर राती २ बजेको रोमतर्फको यात्राको तयारीमा जुटियो ।
क्रमश: