ट्रेण्डिङ

होमपेज / विचार

कोभिड–१९ बाट सचेत रहौँ, सजग बनौँ

— एन.बि.‘प्रगल्भ’

नेपालगाथा २०७६ चैत्र २७ गते बिहीबार १३:१०:५७ मा प्रकाशित

कोभिड–१९ को महामारीका वेला जताततै लकडाउन भइरहेका वेला यही बीचमा भएका केही घटनाहरुले अझै मानिसहरूको मानसिकतामा परिवर्तन आएको छैन । आफैं गम्भीर भएर आफू, आफ्नो परिवार, समाज, राष्ट्र जोगाउनुपर्छ भनेर लागेको देखिदैंन । सरकार अनि प्रशासनको कामकारबाहीलाई नै चुनौती दिँदै पाल्पामा भएको पिकनिक आयोजना अनि सुदूरपश्चिमको बझाङमा भएको चैतली मेलाले हामी आफ्नो स्वास्थ्यप्रति आफै सचेत, सजग र जिम्मेवार नभएको देखाउँछ । यस्तो गैह्रजिम्मेवार कार्यहरु गरेर सबैको जीवनलाई नै धरापमा पार्ने काम भएको छ गाउँघरमा ।

समाजका निम्ति नसोच्ने यस्तो भाइरस मानसिकतालाई के भन्ने ? के प्रहरी प्रशासनको बलजफ्तीमा मात्र नियम पालना गराउनुपर्छ भन्ने हो र ? व्यक्ति–व्यक्ती स्वयम् जिम्मेवार हुनुपर्छ कि पर्दैन ? समाजमा बस्ने सम्पूर्ण व्यक्तिहरुको जिम्मेवारी र उत्तरदायित्वले नै अहिलेको अवस्थामा सुरक्षा संवेदनशील हुने हो । कतै पिकनिक जाने, कतै मेला लगाएर भेला हुने जस्ता कार्यक्रम सम्पूर्ण मानवका लागि घातक छन् । यस्ता कृयाकलापहरु सबैले आ–आफ्नो स्तरबाट बहिष्कार गर्नुपर्छ । यसलाई तत्काल नियन्त्रण गर्न सकिएन भने सबैका लागि अभिषाप हुने देखिन्छ ।

युरोपियन मुलुकहरूमा ठूला–ठूला खेल, कन्सर्ट, मेलाजस्ता बढी भिंड हुने कार्यक्रमहरु समयमै गम्भीर भएर नरोकिँदा आज हजारौंले ज्यान गुमाउनुपरेको छ । साथै लाखौं मानिस कोरोनाबाट संक्रमित भएको अवस्था छ । कति भयावह स्थितिबाट गुज्रिरहेको छ विश्व ! कोरोनाको कुनै औषधि र रोकथामको उपाय पत्ता नलागिसकेको अवस्थामा विश्वका मानव जातिमाथि एउटा गम्भीर चुनौती थपिदिएको छ । आज युरोप, अमेरिका, एसियालगायत धेरै देशहरूको अवस्था दिनानुदिन दयनीय बन्दै छ । एकछिनको रमाइलो, आनन्द, आर्थिक लाभले सम्पूर्ण विश्वजगतलाई नै आज धेरै पछाडि धकेलिदिएको छ ।

हाम्रो देशका सचेत नागरिकहरुले यो कुरा बुझ्न जरुरी छ । यो केवल एक जनासँग मात्र जोडिएको विषय होइन । भाइरससँगको युद्ध हतियारवद्ध कुनै युद्ध त होइन । तर यो हामी आफैं भित्रको युद्ध भने हो । हामी कति धैर्यवान, सहनशील अनुशासित छौं भन्ने कुराको परिक्षणको घडी हो यो समय । यदि हामी सचेत र सजग भएनांै भने हामीलाई बर्बाद हुनबाट कसैले रोक्न सक्दैन । विश्वको सम्पूर्ण अहिलेको अवस्था हेर्दा विश्व एउटा अघोषित युद्धमा होमिएको छ । कोरोना भाइरसविरुद्धको युद्धमा । शिरमाथि कफन बाँधेर यो युद्धको मोर्चामा संसारभरका स्वास्थ्यकर्मीहरु पहिलो पंक्तिमा उभिएका छन् भने त्यसपछि सुरक्षाकर्मीहरुले दोस्रो पंक्तिमा खटिएर सेवा प्रवाह गरिरहेका छन् । संचारकर्मीहरुले पनि सूचना प्रवाह गरेर आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

दिनभरी हामी जता हिंडे पनि जता गए पनि अन्तमा हामी आफ्नो बासस्थान घरमै फिर्ता हुनुपर्ने हुन्छ । हामी, हाम्रो सुरक्षित स्थान नै खोज्छौ । देशले, माटोले, घरले आश्रय दिन्छ नै । आज विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले यो कुराको महशुस गरेका होलान् । आपत विपत, महामारी, चोट पर्दा सबैभन्दा पहिले सम्झिने आफ्नै आमाको काख, आफ्नै माटो हो । होइन भने ज्यानको बाजी थापेर महाकालीमा हाम फालेर आफ्नै माटोमा आउनुको तात्पर्य के ? विदेशमा गएर असैह्य घामको तापमा आफ्नो जिन्दगी लाई दाउमा राखेर देशलाई आर्थिक रुपमा सहयोग पनि गरिरहेका छन् ।

जीवनलाई सरल र सहज तरिकाले जिउने रहर जो कोहीलाई पनि हुन्छ । धैरै धन कमाउने, न्यूनतम राम्रो गाँस, बाँस र कपासको व्यवस्था गर्ने आशा र सपना सबैको हुन्छ । यही इच्छा सपनाको परिबन्दमा परेर विदेशिएका दाजुभाइ दिदीबहिनीहरुको पसिनाको मूल्यलाई पनि बुझ्न जरुरी छ । समयले हामीलाई प्रत्येक पल–पलमा केही न केही सिकाइरहेको हुन्छ । प्रकृतिले, हाम्रो माटोले हामीबाट असल कार्यहरूको अपेक्षा गरिरहेको हुन्छ । हामी भने यसको विपरीत मार्गमा आफूलाई डो¥याइरहेका छौँ । हामीभित्रको गलत भाइरसलाई प्राथमिकता दिइरहेका छौँ । समाज र राष्ट्रप्रतिको आफ्नो कर्तव्यलाई बिर्सिरहेका छौँ । हामीले नेपालको संविधान २०७२ को धारा ४८ मा भएको “नागरिकका कर्तव्य’’ को पालना गर्नुपर्छ ।

अतः हामीले अहिलेको अवस्था अरु बेलाको अवस्था जस्तो होइन भन्ने कुरा प्रत्येक व्यक्तिले महशुस गर्न जरुरी छ । जनतामा नै सचेतना, जिम्मेवारीपन, कर्तव्यबोध भयो भने प्रहरी प्रशासनलाई कुनै रहर हुँदैन उनीहरुमाथि बल प्रयोग गर्ने, बलजफ्ती गर्ने ! यो पिकनिक खाने, मेला पर्वमा रमाउने अनि समाजलाई नै हानी पु¥याउने कुनै कार्यहरू गर्ने बेला हैन । यदि यस्तै क्रियाकलापहरु गर्दै गयौं भने भोलिका दिनमा हामीलाई युरोप अमेरिकाको जस्तो नियती भोग्नबाट कसैले बचाउन सक्दैन । सचेत रहौँ,सजग बनाै‌ र जिम्मेवार नागरिक बनौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top