होमपेज / विचार
मानिस जन्मेपछि मर्नु भनेको सास्वत सत्य हो । मर्न डराउनु त हुँदै होइन तर समय पहिले नै सबैलाई डर लाग्छ किनकी संसार यति राम्रो छ, जसमा सधै बसी रहन मन लाग्छ । हुनत मर्नु प्राकृतिक हो । एक दिन अवस्य काल आउँछ र जानुपर्छ तर कुन रुपमा काल आउँछ कसैलाई थाहा हँुदैन । तर पनि हरेकको नियम र नीति छ । पहिलाको जमानामा बुढेसकालपछि मात्र मान्छे मर्छ भन्ने मान्यता थियो र धेरैजसो त्यस्तै हुन्थ्यो पनि तर आज फरक परिस्थिति छ । मान्छे जन्मेपछि मर्ने वेलासम्मको नियम र नीतिअनुसार नै चल्नुपर्छ । प्रकृति र दैवि प्रकोप त मानव बिनाशका लागि जहिले पनि आइरहेका छन् ।
मानवजातीले भोगी पनि रहेका छन् । विभिन्न खालका भाइरसले समय समयमा मानव जातीलाई तहस नहस त बनाएकै हो । उक्त तनाब निश्चत ठाउँ, वस्ती र जातिसम्म भएर समाप्त हुन्थ्यो । संसार भरका मानवजातीलाई आतंक फैलाउने गर्दैनथियो तर पछिल्लो समयमा आएको यो कोभिड–१९ ले भने संसारका सबै मानवजातीलाई आतंकित बनाएको छ । कुनै देश र ठाउँ विशेष भन्ने नै भएन जताततै चर्चा छ त यसैको कति शक्तिशाली होला । शक्तिशाली देशलाई पनि यसको समयमानै पहिचान र रोकथाम गर्न हम्मे परेको छ ।
आजको तेस्रै विश्वयुद्धका रुपमा कोरोनासँग विश्व लडिरहेको छ ।
अरबौ खरबो रुपैयाँ मिसायल र मेशिन गलनमा खर्च गरे पनि आज तिनी सबै कोरोनाका अगाडि केही काम लाग्न सकेका छैनन् । सानो परजिविले संसारलाई नै स्थगित र आतंकित बनाइरहेको छ । आणविक उत्पादन गरेर सबैलाई त्रसित पार्ने शक्तिशाली राष्ट्रहरु कता गए । जैविक कोरोना किन डराउन नसकेको होला । कतै शंका लाग्छ कतै आणविकको त उपज होइन भनेर । कोभिड–१९ ले मानववीयताको संवेदनशीलतालाई कुनै ख्यालै गरेको छैन । संसारलाई नै स्तब्ध बनाउन सफल भएको छ । यस्तो अवस्थामा मानव जातिमा भएको डर, त्रासले पिरोलीरहेको छ ।
यसका साथै वातावरणनै आतंकित भएको छ । सबैमा त्रास छ अब के हुने हो, कुन देशको कति खेर कति जना संक्रमण हुनेहुन् भन्ने सूचना र समाचार आउने हो भन्ने मनमा कौतुहलता उत्पन्न भइरहेको छ । दृष्यभएको वस्तुसँग मान्छे सजिलै लड्छ, मेसिनगनदेखि मिसायलसम्म देखाएर डराउनेले आज देख्न नसक्ने सानो परजिवीसँग लड्ने हतियार बनाउन संघर्ष गरिरहेको अवस्था छ तर बनाउन सकेको छैन । बरु उल्टै निरिह भएर हेरिरहेको छ । एउटा मर्दा अर्को मलाम जाने स्थिति छैन । विकसित र अल्पविकसित राष्ट्र कसैलाई छोडेको छैन । झन् ठूलो मारमा विकसित राष्ट्रहरु नै परेको अवस्था छ । रेडिायो, टिभी, मोबाइल, समाजिक सञ्जाल जताततै करोना बाहेक केही छैनन् । अलिक टाउको दुख्यो, ज्वरो आयो भने त्यही होकी भन्ने लाग्छ । मनमा तनाव छ । मानिसहरु घरभित्र बस्न बाध्य छन् । कहिलेसम्म घरभित्रै बस्नुपर्ने हो कसैलाई थाहा छैन । सरकार आफ्नो प्रयासमा जुटिरहेको छ ।
यस्तो विपतमा सबै एकजुट हुने बेला त्यसमा पनि नुन छर्कने काम भइरहेको छ । सबै परिवारसँगै हँंदा ठीक हो तर जसको आफ्नो घरदेखि टाढा छोरा छोरी छन् तिनका आमाबुवालाई छटपटि भइरहेको छ । मानिस रातदिन चिन्तित छ । यदि दुई, तीन महिनासम्म यस्तै भयो भने सरकारले थेग्न सक्ने छैन । आर्थिक अवस्था संसारको ठप्प छ । यसपछि कस्तो हुने हो थाहा पनि छैन । कस्तो विडम्बना । मानिसबाट कहाँ भुल भयो । हुनत मानवीयता दिनप्रतिदिन हराउँदै थियो । धनि बन्नका लागि देश–देशबीच व्यक्ति–व्यक्तिबीच होडबाजी थियो । भौतिक विकासले मानवीय विकासको चरम लापरबाही भएको थियो ।
अब सबै सचेत भइ आधुनिकता र परपरागत खानपिनलाई मिलाएर जानुपर्ने अवस्था सिर्जना भएको छ । यो विषम परिस्थितिमा सरकाका नीति, नियमको पालना गरौं । सबै एकजुट भएर यसको विरुद्ध लडांै । यो भयबाट मुक्त हुन हामी सबै सचेत हुनुपर्छ सजगताका साथै बढी सतर्कता हुनुपर्छ । जसले गर्दा कोरोना पनि हामीबाट डराएर भागोस् भन्ने यही कामना गरौं । आत्मबल बलियो बनाएर सजकता र सतर्कता अपनाउनु नै महत्वपूर्ण कार्य हो । व्यक्तिगत आनिबानीहरु पनि सुधार गरौं ।