ट्रेण्डिङ

होमपेज / अन्तरबार्ता

‘हिंसामुक्त समाज हामी सबैका चाहना’ – निर्देशक गिरी [अन्तरबार्ता]

महिला हिंसा विरुद्धको १६ दिने अभियान

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १५:२३:१८ मा प्रकाशित

सुर्खेत । महिला हिंसा विरुद्धको १६ दिने अभियान मात्र नभएर लैङ्गिक हिंसा विरुद्धको अभियान पनि भएको आवाज संस्थाका निर्देशक पवित्रा गिरीले बताउनु भएको छ । साथै उहाँले हिंसामुक्त समाज सबैको लागि होस् भन्ने हामी सबैका चाहना भएको पनि बताउनु भएको हो । महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वव्यापी रुपमा चलिरहेको छ । महिला हिंसा विरुद्धको विश्वव्यापी रुपमा मनाईने १६ दिने सचेतना अभियान सुर्खेतको वीरेन्द्रनगरमा पनि विभिन्न कार्यक्रम सहित मनाइएको छ । लैङ्गिक हिंसा विरुद्धमा कस्ता कार्यक्रमहरु गर्नु उपयुक्त हुन्छ । यही विषयमा निर्देशक गिरीसंग त्रिभुवन बिसीले गर्नुभएको कुराकानी ।

आवाज संस्थाले विगतदेखि नै महिलाहरु र बालबालिकाको पक्षमा विभिन्न कामहरु गर्दै आउनु भएको छ । विगतमा हुने गरेका १६ दिने अभियान र अहिलेको यो अभियान के फरक छ ?

विगतको अभियान र महिला अधिकारको अवस्था एकदमै सशक्त र संघर्षशील छन् । व्यापक रुपमा सबैको साझा मुद्दाका रुपमा अगाडी बढेका हुन् । सुरुवात गर्दा खेरी आवाज संस्थाको पहलमा वीरेन्द्रनगर स्थित जिल्लाका सम्पूर्ण संघसंस्था विभिन्न राजिनीतिक दलका नेताहरु, पत्रकार विभिन्न ठाउँका मानिसहरुलाई एकै ठाउँमा राखेर १६ दिने महिला हिंसा विरुद्धका विभिन्न कार्यक्रमहरु मनाइएका थिए । महिलाहरुका लागि विभिन्न ऐन कानुन बनेका थिएनन् । महिलाहरु पहिला पहिला हिंसाबाट प्रभावित थिए । हामीले त्यो समय देखि नै महिला र बालबालिकाका पक्षमा बोल्न सुरु गरेका हौँ ।
हामीले एउटा राम्रो संजाल बनायौँ । जसले कुनै पनि काम गर्दा, जस्तो समस्या परे पनि हामीहरु ऐकवद्धता भएर लाग्यौँ । चाहे त्यो नीति बनाउने कुरामा होस् । हामीले सडकबाट र सदनबाट महिलाहरुको पक्षमा आवाज उठायौँ । हामीले अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिवेदन मार्फत सहभागिता जनायौँ । हामीले सानो सानो अभियानदेखि ठुलाठुला अभियानहरु पनी सञ्चालन गयौँ । फलस्वरुप महिला आन्दोलन यसरी बढ्यो की महिलाहरुको सहभागिता जताततै हुन थाल्यो । विश्वभर महिलाहरुको आन्दोलन भैरहँदा विभिन्न गाउँगाउँ र टोलटोलबाट महिलाहरुले आफ्नो आवाज उठाउन थाले ।

अहिले राजनीतिक हिसाबले महिला धेरै अघि बढिसकेको जस्तो देखिन्छ, तर समाजिक हिसाबले महिलाको अवस्था के छ ?

अहिले महिलाहरु राजनीतिक हिसाबले अघि आउनु भएको छ । राज्य नै मुल भएको छ । राज्यले नै सबैको अधिकार बिनाभेदभाव सुनिश्चित गर्नुपर्छ । । राज्यले गर्ने शासनमा विभेदीकरण गर्नु हुदैन । शासन हस्तक्षेपकारी हुनुहुदैन । राज्य भएका कारण हरेक नागरिकले आफुमाथि विभेद भएको महसुस नगरोस् । राज्य सत्ता भनेको अभिभावकीय जिम्मेवारी बहन गर्नुपर्छ ।  
राज्यले जति पनि महिला अधिकार सम्बन्धी कामहरु, ऐन कानुन बनाएको छ । त्यो  व्यवाहरमा लागु हुन सकेको छैन । अहिले पनि सामाजिक रुपमा महिलाहरु सक्षम छन् । उनीहरु क्षमतावन छन् । उनीहरु गर्न सक्छन् । भनेर अहिले पनी राज्यले स्वीकार गर्न नसकेको अवस्था छ ।
सामाजिक रुपमा महिलाहरुको श्रमको मुल्य भएको छैन । कुनै काम महिलाले दिनभरी घरमा गर्दा उसको मूल्य छैन त्यही काम पुरुषले बाहिर गर्दा उसको मूल्य छ । घरको काम बराबर गरौँ भन्ने मान्यता अहिले पनि छैन । अहिले पनी सामाजिक मूल्य मान्यता संस्कारले महिलाको कामलाई धेरै प्रभाव पारेको छ । सामाजिक रुपमा महिलाहरु सम्मानित हुन सकेका छैनन् । अहिलेको अवस्थामा राजनीतिक रुपमा मात्र नभएर हरेक क्षेत्रमा महिलाहरु अगाडि आउनुपर्छ ।
हाम्रो लडाँई भनेको कुनै व्यक्तिसँग होईन पुरुष हाम्रो लागि दुष्मन पनि हैन । अहिलेको अवस्थामा राज्य सत्ता नभएर व्यक्तिमा भएको सोच विचार र संस्कारलाई परिवर्तन गर्न जरुरी छ ।

महिलालाई हेर्ने हाम्रो मानसिकता नै कमजोर भएर हो की ? परुषले नै महिलाहरुलाई पछाडि पारेको हो ?

पुरुषले महिलाहरुलाई पछाडि पारेको हैन । हाम्रो हिजोको शासन सत्ता कसरी चल्दै आए त्यसले प्रभाव पारेको हो । हिजो महिला पुरुष सामुहिक खेती गर्थे । सामुहिक रुपमा विकास भएको थियो । कृषि समाज सुरु भएसँगै विस्तारै महिलाहरु पुरुषको निजी सम्पत्तिको रुपमा आउन थाले । यसरी निजी सम्पत्ति हँुदा महिलालाई हरेक रुपमा पुरुषले नियन्त्रण गर्न थाले । नियन्त्रण गर्ने क्रममा महिलाले एउटा संस्था घर व्यवहार मात्रै चलाउन बाध्य भयो ।
अहिले हाम्रो समाज संस्कार कसरी विकास हुदै गयो भने पुरुषले जे भने पनि महिलाले मान्नुपर्ने भयो । पुरुष जब घरमा, समाजमा र राज्य सत्तामा पनि अगाडि आयो त्यसपछि उसले आफ्नो अनुकुलको नीति नियम बनाउदै गयो । हामी महिला अधिकार कर्मीको विचार के हो भने कसैलाई पनि तलमाथि पार्ने अधिकार चाहिएको छैन । सबैलाई बराबर हैसियत दिने, समान मूल्य मान्यतामा बाँच्न पाउने अधिकार खोजेका हौँ ।

तपाईहरु जस्तो सामाजिक अभियन्ताको अपेक्षा के हो ? स्थानीय सरकारले के गरिदियोस् जस्तो लाग्छ ?

हाम्रो अपेक्षा केहो भने अहिलेको अवस्थामा जती पनि नियम कानुन बनेका छन् । तिनलाई अब कार्यान्वयनको बाटोमा लैजान जरुरी छ । अबको हाम्रो उद्देश्य के हो भने समाजमा हुने कुराहरुलाई कानुनी तहमा समेट्न सकेको छैन । समेटिएका कुराहरु पनि कार्यान्वयन हुन सकेका छैनन् ।
जनप्रतिनिधिहरु संगको अपेक्षा केहो भने हरेक स्थानीय तहमा नजिकबाट जनताका मनका कुराहरु बुझन् सक्नु पर्छ । सरकारले नीति नियम बनाउछ, त्यो सबै समान रुपले व्यवहारमा लागु गर्नु पर्छ ।
चुनाव भएर सबै नेतृत्वमा आउनु भएको छ । त्यो नेतृत्व एकदमै सशक्त भएर अघि बढ्नुपर्छ, आफ्नो जिम्मेवारी सहित बालिकामैत्री, महिलामैत्री, अपाङ्गमैत्री वातावरणको सिर्जना गरोस् यही हाम्रो अनुरोेध हो । त्यसमा हामीहरुको पनि सहयोग रहनेछ । अहिलेको अवस्थामा राज्यले केही गरेको छैन मात्र नभनेर राज्यले किन गर्न सकेको छैन ? चुनैतीहरु के छन् ? के गर्न सक्यो ? के गर्न सकेन ? त्यसलाई प्रथामिकताका साथ सबैको सहयोग हुनुपर्छ ।
अहिलेको अवस्थामा महिला हिंसा विरुद्धको १६ दिने अभियान मात्र नभएर यो लैङ्गिक हिंसा विरुद्धको अभियान पनि हो । महिला पुरुष दुबैलाई हिंसा हुन सक्छ । शक्तिमा जो छ त्यसले शक्तिको दुरुपयोग गर्यो भने हिंसा भएको महसुस हुन्छ । हाम्रो जस्तो देशमा औषत रुपमा महिलाहरु पछाडि भएको कारणले यिनी कुराहरु उठेका हुन् । भोली महिलाले  नभएर पुरुषलाई मात्रै हिंसा होस् भन्न पनि चाहेको हैन । हिंसामुक्त समाज सबैको लागि होस् भन्ने हामी सबैका चाहना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top