ट्रेण्डिङ

होमपेज / पर्यटन

‘नयाँ यात्रामा कर्णाली’

नेपालगाथा २०७६ फाल्गुण २० गते मंगलबार १४:३७:१३ मा प्रकाशित

सुर्खेत । संघीय सरकारका वन मन्त्री शक्ति बस्नेतले कर्णाली विगतको तुलनामा अहिले नयाँ यात्रामा अघि बढिरहेको बताएका छन् । कर्णालीमा विकास निर्माणका कामहरु जलविद्युत निर्माण, सडक, शैक्षिक व्यवस्थापन, पर्यटकीय गतिविधिहरु जस्ता विभिन्न कामहरु अघि बढिरहेको भन्दै उनले विकास निर्माणका हिसाबले कर्णालीले नयाँ आकार लिँदै गएको बताए । 
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबारदेखि शुरु भएको ‘कर्णाली उत्सव, कुडा कर्णालीका’को उद्घाटन गर्दै मन्त्री बस्नेतले अब कर्णालीका चुनौतीहरु के–के हुन तिनको पहिचान गरेर विषय केन्द्रित वहस गर्नुपर्ने बताए । 
कर्णाली सवाल गर्ने ठाउँ मात्रै नभएर जवाफ दिने अवसर समेत प्राप्त गर्दै गएको छ । उनले भने, ‘विभिन्न क्षेत्रका विकास निर्माणका कामहरु भइरहेका छन् । यसले कर्णाली विगतबाट अहिले नयाँ यात्रामा अघि बढ्नै छ भन्ने सन्देश दिन्छ ।’ विकास निर्माणका कामहरु अघि बढे पनि त्यसको परिणाम निकाल्न अझै धेरै मेहेनत गर्नुपर्ने उनको भनाई थियो ।  
कर्णाली समृद्धिको लागि हामी कर्णालीबासी सबै जिम्मेवार भएर त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ । उनले थपे, ‘यहाँको सबै समाजलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्छ । हिजो सबै शक्ति एकतावद्ध नहुँदा विकास निर्माणको गति प्रभावित हुँदै गयो, यहाँका सम्भावनाहरुको सही सदुपयोग भएन ।’
कर्णालीमा महत्वपूर्ण परम्परागत ज्ञानहरु भए पनि त्यसको सही सदुपयोग हुन नसकेको भन्दै उनले सामाज सुहाउँदो शैक्षिक प्रणालीको विकास गर्नुपर्ने बताए । कर्णालीमा स्रोत साधन व्यापक भएर पनि यहाँका सीमित आवश्यकता पूरा गर्न नसक्दा कर्णाली पछि परेको भन्दै उनले चाँडै नै कर्णालीले आफ्नो पछौटे पनलाई अन्त्य गरेर पूरानै समृद्ध सिंजा सामराज्य जस्तै विकसित हुने विश्वास व्यक्त गरे । 
कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कुनै दिन कर्णालीको समृद्धिको कथा लेखिने बताए । ‘हाल सम्म कर्णालीका अभावका गितहरु लेखिए, अभावका साहित्यिक कृतिहरु लेखिए । सञ्चार माध्यममा अभावका, गरिबीका कुराहरु लेखिए । अहिले पनि लेखिदैं आएका छन् । उनले भने, ‘अब सधैं त्यो रहिरहने छैन । कर्णाली छिटै समृद्धिको बाटोमा अघि बढ्ने छ र कर्णाली समृद्धिको कथा लेखिने छ ।’
कार्यक्रममा चिनौँ कर्णाली नामक आफ्नो प्रस्तुति राख्दै मन्त्री भण्डारीले प्रदेशको दीर्घकालीन सोँच, लक्ष्य, उद्देश्य अनुसार आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि जलविद्युत प्रमुख सम्वाहक भएको बताए । 
त्यो सँगै गुणस्तरीय र दिगो पूर्वाधार, बहुमूल्य जडिबुटी, पर्यापर्यटन तथा कला संस्कृति, सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक साझेदारीलगायतका अन्य विभिन्न कुराहरु कर्णालीको समृद्धिको सम्भव भएको बताए । 
नेपाल  सरकारले निर्धारण गरेका समृद्धिका ११ र सुखका २३ गन्तव्य सूचकको आधारमा कर्णाली प्रदेश आफ्नो मौलिक विशेषतासहित समृद्ध कर्णाली, सुखारी कर्णालीबासी बनाउने सोचलाई सार्वज्निक, नीजि, सहकारी, सामुदायीक क्षेत्रसँग साझेदारी गरेकार अघि बढ्ने उनको भनाई थियो । 
यस्तै कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले घुमौँ कर्णालीको निम्तो दिँदै एकपटक सबैको कर्णाली गन्तव्य हुने बताए । पूर्वाधार विकास हिसाबले कर्णाली केही पछि परे पनि पर्यटकीय हिसाबले कर्णाली अघि छ । उनले भने, ‘हरेक जिल्लाहरुमा भरीपूर्ण ऐतिहाँसिक महत्वका पर्यटकीय क्षेत्रहरु छन् । कर्णाली आउँने सबैको जीवनमा नयाँ अनुभूति हुनेछ ।’ कुनै दिन विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली हुने बताए ।
विभिन्न सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा उद्घाटन भएको तीन दिनसम्म सञ्चालन हुने उत्सवमा उद्घाटनको दिन सोमबार ‘सरकारका तिन तह बगाउने कर्णालीका’, ‘खसका खासखुस’, संस्कार र समानता, जस्ता विभिन्न विषयबस्तु समेटिएका सेसनहरु सञ्चालन भएका छन् । 
यस्तै उत्सवको दोस्रो दिन मंगलबार ‘कर्णालीका कथा’, जस्ता विभिन्न सेसनहरु रहेको आयोजकले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top