होमपेज / समाज
सुर्खेत । सुर्खेतमा रहेकाे इगरब्रिज आवासीय माध्यमिक विद्यालय परिवारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ९ लाख एक सय ५५ रुपैयाँ सहयोग प्रदान गरेको छ।
इगरब्रिज विद्यालयका सम्पूर्ण विद्यार्थी, गुरु, गुरुआमा, कर्मचारी तथा विद्यालयको संयुक्त पहलमा संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हाे।
प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारको दुःखमा साथ दिने र राहत तथा उद्धार कार्यमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको विद्यालयका प्रशासन प्रमुख कृष्णा न्याैपाने भूसाले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ''आज पूर्वमा घाउ लागेकाे छ, हामी पश्चिमलाई दुखेकाे छ । याे नै मानवताकाे गतिलाे उदाहरण हाे । तसर्थ हामीले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विद्यालय परिवारले विपत्तिमा परेकाहरूलाई सहयोग गर्ने अभियानस्वरुप हामीले याे सानाे सहयाेग गरेका हाैं ।''
यसैबीच, इगरब्रिज परिवारले बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धारका लागि प्रार्थना गरेको छ।
विद्यालयले पछिल्लाे पटक फरक पहिचानसहित विद्यालयलाई संस्कारसहितकाे शिक्षालाई जाेड दिँदैं दीनदु:खी र गरिबहरुकाे सेवा गर्ने परम्मपरालाई अभियानकै रुपमा अघि बढाएकाे जनाएकाे छ । विद्यालयले विगतदेखि नै मानवसेवा आश्रम, प्रशान्ती वृद्धाश्रमलगायतका संस्थाहरुलाई मुठीदान निरन्तररुपमा प्रदान गर्दै आइरहेकाे छ ।