होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री बनेपछि वालेन्द्र शाह (बालेन) को सरकारका एकपछि अर्को प्रभावशाली अनुहारका वर्षौं पुराना फेसबुक पोस्टहरू पुनः सतहमा आउन थालेका छन् । सामाजिक सञ्जालमा पुनः भाइरल भइरहेका ती पोस्टहरूले सरकारका निर्णय, राजनीतिक विश्वसनीयता र सार्वजनिक प्रतिबद्धतामाथि नयाँ प्रश्न उठाइरहेका छन् ।
संयोग पनि रोचक छ । संविधान संशोधनको बहस अगाडि बढिरहेको बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको पाँच वर्षअघिको 'राजा आऊ, देश बचाऊ' भन्ने पोस्ट चर्चामा आयो । शिक्षामन्त्री सस्मित पोखरेलले तत्कालीन समयमा डा. गोविन्द केसीको आन्दोलनका क्रममा गरेको समर्थन सम्झाउने पोस्टहरू अहिले फेरि भाइरल भइरहेका छन् ।
यता प्रधानमन्त्री बालेन आफैंले मेयर हुँदा निहारिका राजपुतमाथि भएको व्यवहारलाई 'अत्याचार' भनेको पोस्ट अहिले प्रधानमन्त्री भएका बेला निहारिका पक्राउ परेपछि व्यापक रूपमा शेयर भइरहेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नी आमालाई एमाले जिल्ला कमिटी सदस्य निर्वाचित भएकोमा दिएको बधाई सन्देश पनि सामाजिक सञ्जालमा पुनः चर्चाको विषय बनेको छ ।
यी पोस्टहरू आफैंमा अवैध वा अस्वाभाविक त होइनन् । तर, विगतका सार्वजनिक अभिव्यक्ति र वर्तमान जिम्मेवारीबिचको दूरी अहिले राजनीतिक बहसको केन्द्र बनेको छ ।
असिम शाहको हकमा प्रश्न संविधान संशोधनको नेतृत्वसँग जोडिएको छ । गणतन्त्रको संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने जिम्मेवारी पाएका व्यक्तिले कुनै समय खुला रूपमा राजतन्त्रको पक्षमा अभिव्यक्ति दिएको तथ्यलाई विपक्षी र सामाजिक सञ्जाल प्रयोगकर्ताले उठाइरहेका छन् । समर्थकहरू भने व्यक्तिको राजनीतिक धारणा समयसँगै परिवर्तन हुन सक्ने तर्क गर्छन् ।
शिक्षामन्त्री सस्मित पोखरेलमाथिको बहस भने डा. गोविन्द केसीको पछिल्लो आन्दोलनसँग जोडिएको छ । आठ वर्षअघि चिकित्सा शिक्षा सुधारका लागि केसीको आन्दोलनलाई समर्थन गर्दै सरकारको आलोचना गरेका पोखरेल अहिले शिक्षा मन्त्रालयको नेतृत्वमा छन् । केसी फेरि अनशनमा बसेपछि पुराना पोस्ट पुनः भाइरल बनेका छन्, र सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ- त्यतिबेलाको प्रतिबद्धता अहिलेको नीतिमा देखिन्छ कि देखिँदैन ?
प्रधानमन्त्री बालेनको हकमा पनि यस्तै विरोधाभास देखाइएको छ । काठमाडौं महानगरको मेयर हुँदा निहारिका राजपुतको पक्षमा उभिँदै उनले राज्यको व्यवहारलाई 'अत्याचार' भनेका थिए । तर अहिले प्रधानमन्त्री भएका बेला न्यायको माग गर्दै सिंहदरबार पुगेकी निहारिका पक्राउ परेपछि त्यही पोस्ट व्यापक रूपमा शेयर हुँदै सरकारमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लागेको छ । यद्यपि सरकार पक्षले भने निषेधित क्षेत्र उल्लङ्घनका कारण कानुनी प्रक्रिया अपनाइएको बताएको छ ।
नेपालको राजनीतिमा पुराना अन्तर्वार्ता वा भाषण उद्धृत हुने चलन नयाँ होइन । तर फेसबुक, एक्स (ट्वीटर) र टिकटकको युगमा डिजिटल फुटप्रिन्ट नै राजनीतिक उत्तरदायित्वको नयाँ मापदण्ड बन्दै गएको देखिन्छ । कुनै समय सामान्य स्टाटस ठानिएका पोस्टहरू आज सरकारका निर्णयसँग तुलना गरिँदा राजनीतिक बहसको मुख्य सामग्री बनेका छन् ।
राजनीतिमा विचार परिवर्तन स्वाभाविक मानिए पनि, त्यो परिवर्तनको स्पष्ट व्याख्या र सार्वजनिक जवाफदेहीता आज पहिलेभन्दा धेरै आवश्यक भएको देखिन्छ । किनभने सामाजिक सञ्जालले अब नेताहरूको विगत बिर्सँदैन, बरु आवश्यक पर्दा फेरि सबैको टाइमलाइनमा ताजा बनाइदिन्छ ।
राजनीतिक नेतृत्वको हकमा मात्र होइन, पुराना पोस्टले तपाईंलाई पनि जुनसुकै बेला विवादित वा लज्जित बनाइदिन सक्छन् । त्यसले आज हामी यहाँ पुराना फेसबुक पोस्ट कसरी लुकाउने भन्ने बारे बताउँदै छौं ।
प्रधाानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको ५ वर्ष पुरानो फेसबुक पोस्ट भाइरल भएपछि अहिले सामाजिक सञ्जालको गोपनियताको विषयमा पुनः बहस सुरु भएको छ। शाहले सन् २०२० मा 'राजा आऊ देश बचाऊ' भन्दै गरेको पोस्ट उनी संविधान संशोधन सम्बन्धी कार्यदलमा नियुक्त भएपछि अहिले चर्चामा आएको हो । यसले के पुष्टि गर्छ भने, तपाईँले वर्षौँ पहिले गरेका पोस्टहरूले पनि भविष्यमा तपाईँको छविमा प्रभाव पार्न सक्छन्।
कसरी लुकाउने पुराना फेसबुक पोस्ट ?
फेसबुकले प्रयोगकर्तालाई आफ्ना पुराना सामग्रीहरू कसले देख्न सक्छ भन्ने नियन्त्रण गर्ने विभिन्न सुविधाहरू दिएको छ। टेकपानाका पाठकहरूका लागि आफ्ना पुराना पोस्टहरू सुरक्षित राख्ने वा लुकाउने सरल तरिकाहरू यहाँ प्रस्तुत गरिएको छ:
पुराना पोस्टको अडियन्स परिवर्तन गर्ने
यदि तपाईँ कुनै निश्चित पोस्ट मात्र लुकाउन चाहनुहुन्छ भने यो विधि अपनाउन सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिला आफ्नो फेसबुक प्रोफाइलमा जानुहोस् र जुन पोस्टको सेटिङ परिवर्तन गर्नुपर्ने हो, त्यहाँ पुग्नुहोस् ।
पोस्टको मिति वा समयको छेउमा रहेको अडियन्स सेलेक्टर (Audience Selector) आइकन (जस्तै: पृथ्वीको चिन्ह वा साथीहरूको चिन्ह) मा क्लिक गर्नुहोस् । अब त्यहाँ उपलब्ध विकल्पहरू जस्तै Friends (साथीहरू), Only Me (म मात्र) वा अन्य कुनै समूह छान्नुहोस् ।
तपाईँले एक पटक एउटा पोस्टको अडिएन्स परिवर्तन गरेपछि, त्यो सेटिङ सोही पोस्टका लागि मात्र लागु हुन्छ ।
पुराना सबै पोस्टहरू एकै पटक लुकाउन
यदि तपाईंसँग धेरै पुराना पोस्टहरू छन् र ती सबैलाई एक-एक गरी परिवर्तन गर्न सम्भव छैन भने फेसबुकको Limit Past Posts फिचर प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईँले पहिले Public वा Friends of Friends मा शेयर गरेका सबै पोस्टहरूलाई एकैपटक Friends मा परिवर्तन गरिदिन्छ ।
यसका लागि सबैभन्दा पहिला फेसबुकको बायाँतर्फ आफ्नो प्रोफाइल तस्बिरको माथि रहेको मेनु बटन (समानान्तर तीन वटा धर्सा भएको) क्लिक गर्नुहोस् । Settings & privacy मा गई Settings छान्नुहोस् ।
अब स्क्रोल गर्दै जानुहोस् । मेनुबाट Posts मा क्लिक गर्नुहोस् र Limit who can see past posts को छेउमा रहेको View बटनमा ट्याप गर्नुहोस् । यति गरिसकेपछि Limit Past Posts बटनमा क्लिक गर्नुहोस् । कन्फर्म गर्नका लागि पुनः Limit past posts मा क्लिक गर्नुहोस् । तर ख्याल गर्नुहोस्, यो तरिका फेसबुक पेजमा नभई अकाउन्टका लागि मात्र उपयोगी हुन्छ ।
ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू:
Limit Past Posts विकल्प प्रयोग गरिसकेपछि त्यसलाई एकै क्लिकमा पहिलेको अवस्थामा (Undo) ल्याउन सकिँदैन । यदि भविष्यमा ती पोस्टहरू सार्वजनिक गर्नुपरेमा प्रत्येक पोस्टमा गएर म्यानुअल रूपमा अडिएन्स परिवर्तन गर्नुपर्ने हुन्छ ।
यदि तपाईँले पोस्टमा कसैलाई ट्याग गर्नुभएको छ भने, त्यो पोस्ट ट्याग गरिएको व्यक्ति र उनका साथीहरूले अझै पनि देख्न सक्छन् । तपाईँले अरूको प्रोफाइलमा गरेका पोस्ट वा सार्वजनिक ग्रुपहरूमा गरेका कमेन्टहरू यो सेटिङले लुकाउँदैन । त्यस्ता सामग्रीहरूको नियन्त्रण सम्बन्धित प्रोफाइल धनी वा ग्रुपसँग हुन्छ ।
अरूले तपाईँलाई ट्याग गरेका पोस्टहरू तपाईँको टाइमलाइनमा देखिनुअघि नै स्वीकृत वा अस्वीकृत गर्न Timeline Review अन गर्न सक्नुहुन्छ । तपाईँको प्रोफाइल अरू (जो तपाईँको साथी होइनन्) ले हेर्दा कस्तो देखिन्छ भन्ने थाहा पाउन आफ्नो प्रोफाइल तस्विरमा ट्याप गरी माथि दायाँ कुनामा रहेको गोलो घेराभित्र तीन वटा थोप्ला भएको बटन भित्र रहेको View As टुल प्रयोग गर्न सक्नुहुन्छ । टेकपानाबाट ।