ट्रेण्डिङ

होमपेज / समाज

पाँच दिने विद्यालय मनोसामाजिक सहयोग तालिम सञ्चालन

श्रावण महिनालाई "मानसिक स्वास्थ्य सचेतना महिना" का रूपमा घोषणा

नेपालगाथा २०८३ श्रावण ७ गते बिहीबार २१:१२:१६ मा प्रकाशित

सुर्खेत । सी.एम.सी.-नेपालले सिबिएम ग्लाेबलको आर्थिक सहयोगमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा ५ दिने विद्यालय मनोसामाजिक सहयोग तालिम सञ्चालन गरेको छ। श्रावण ७ गतेदेखि सुरु भएको उक्त तालिम श्रावण ११ गतेसम्म सञ्चालन हुनेछ।

तालिममा भगवतीमाई गाउँपालिका र त्रिवेणी गाउँपालिका अन्तर्गत कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन भएका विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ। विद्यालयमा मानसिक स्वास्थ्य प्रवर्द्धन, मनोसामाजिक सहयोग तथा विद्यार्थीमैत्री सिकाइ वातावरण सुदृढ गर्ने उद्देश्यका साथ यो तालिम आयोजना गरिएको हो।

तालिमको उद्घाटन सीएमसी नेपालका नीति तथा सुशासन प्रमुख समेत रहेका कर्णाली प्रादेशिक कार्यलय प्रमुख हिमाल गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तथा स्वास्थ्य महाशाखा प्रमुख वृष बहादुर शाही तथा मानसिक स्वास्थ्य फोकल व्यक्ति खगेन्द्र गैरेको उपस्थिति रहेको थियो। उनले मानसिक स्वास्थ्य स्वास्थ्यकाे मात्रै विषय नभइ जनस्वास्थ्यकाे सराेकारकाे विषय बन्नुपर्ने बताउनुभयाे । 

उद्घाटन समारोहमा वक्ताहरूले विद्यालयमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सेवाको महत्वमाथि जोड दिँदै विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धनमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँहरूले शिक्षकहरूमा विद्यार्थीहरूको मानसिक स्वास्थ्य अवस्था पहिचान गर्ने, प्रारम्भिक मनोसामाजिक सहयोग प्रदान गर्ने, आवश्यक परामर्श गर्ने तथा आवश्यकता अनुसार सम्बन्धित सेवामा प्रेषण (Referral) गर्न सक्ने क्षमता विकासका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

हालै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले श्रावण महिनालाई "मानसिक स्वास्थ्य सचेतना महिना" का रूपमा घोषणा गरेको छ। उक्त घोषणा अन्तर्गत विद्यालयहरूमा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। यो तालिमले उक्त अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top