ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा मिडियामाथि अंकुश लगाउने प्रयास भयो - अन्तर्राष्ट्रिय पत्रकार संघ

नेपालगाथा २०८३ असार ३१ गते बुधबार १८:४०:१७ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा गाडी तेर्स्याएर आतंकित पारिएको घटनापछि इन्टरनेशनल युनियन अफ जर्नालिस्ट (IUJ) ले नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अवस्था खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । संघद्वारा जारी विज्ञप्तिमा गर्दै जेन-जी आन्दोलनपछिको निर्वाचनबाट गठित वर्तमान सरकारका कदमहरूले सञ्चार क्षेत्रमा त्रास फैलाएको उल्लेख गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भएयता प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार हुने खालका घटनाक्रमहरू बढेको उल्लेख गरिएको छ । IUJ ले कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजन जस्ता प्रमुख सञ्चार गृहहरूको प्रवेशद्वारमा अनधिकृत रूपमा अवरोध पुर्‍याइएको साथै, पत्रकार किशोर श्रेष्ठमाथि दिइएको धम्की र उनलाई हिरासतमा लिने प्रयासको पनि निन्दा गरेको छ ।

सरकारले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने नीति लिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने र मिडिया बहुलवादलाई कमजोर बनाउने वातावरण सिर्जना गर्दछ ।’

यी र यस्तै घटनाले नेपालमा पत्रकार र सञ्चार संस्थाहरूमा ‘स्व-सेन्सरसिप’ (Self-censorship) को प्रवृत्ति बढ्दै गएको भन्दै IUJ ले चिन्ता व्यक्त गरेको छ । प्रतिशोध, डर र धम्कीका कारण पत्रकारहरूले समाचार सम्प्रेषणमा संकूचन ल्याउनु परेको र यसले नागरिकको सूचनाको हक र लोकतान्त्रिक सुशासनमा गम्भीर खतरा पैदा गरेको संघको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top