होमपेज / समाज
सुर्खेत । नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय कमिटीले नव नियुक्त डिनहरुलाई बधाई, शुभकामना तथा स्वागत गरेको छ ।
विश्वविद्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर ग्य्राजुएट स्कुल अफ एजुकेशनका डिन प्रा.डा. यमबहादुर कार्की, ग्य्राजुएट स्कुल अफ ल का डिन प्रा.डा. विनोद बस्याल र ग्य्राजुएट स्कुल अफ इन्जियिरिङ्गका डिन सह प्रा.डा. राजन सुवाललाई बधाई तथा स्वागत गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव तेजविक्रम बस्नेतले विश्वविद्यालयका विभिन्न समस्याहरुलाई सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नवनियुक्त डिनहरुले प्राज्ञिक उनन्नयका लागि सबैको साझा भएर काम गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा बोल्दै नवनियुक्त डिनहरुले विश्वविद्यालयलाई नयाँ उचाईमा पु¥याउनका लागि सबै पक्षको साथ र सहयोग लिएर अघि बढ्ने बताउनु भयो । कर्णाली प्रदेश अध्ययन र अनुसन्धानको सम्भावनाको प्रदेश भएकाले विश्वविद्यालयको जनशक्तिलाई अध्ययन तथा अनुसन्धानको क्षेत्रमा प्रयोग गर्ने डिनहरुको भनाइ रहेको थियो ।
कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा मध्यपश्चिम विश्वविद्यालयका इन्चार्ज डा. विष्णुकुमार खड्काले विश्वविद्यालयको प्रगतिका लागि संगठनले जहिले पनि रचनात्मक भूमिका खेल्ने बताउनुभयो । इन्चार्ज खड्काले विश्वविद्यालयको आंशिक, करार र स्थायी जनशक्तिको व्यवस्थापनका सन्दर्भमा डिनहरुले सकारात्मक भूमिका खेल्दै कक्षा कोठालाई गुणस्तरीय बनाउनमा समेत डिनहरुको योगदानले महत्वपूर्ण हुने राय व्यक्त गर्नुभयो ।
.jpg)
यसैगरी नेपाल प्रगतिशील प्राध्यापक संगठनका कर्णाली प्रदेशका अध्यक्ष कमलराज लम्सालले विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरुका समस्या एकमुष्ठ समाधान गर्ने गरी डिनहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालयका उपाध्यक्ष वेदप्रकाश ढकालले विश्वविद्यालयको समग्र अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालयका अध्यक्ष रामप्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संगठनका सहसचिव त्रिभुवन बिसीले गर्नुभएको थियो ।





