ट्रेण्डिङ

होमपेज / समाज

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकार निलम्बित

आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आह्वान

नेपालगाथा २०८३ असार ८ गते सोमबार २२:४९:१२ मा प्रकाशित

महेन्द्रनगर । सार्वजनिक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेपछि पत्रकार ऐश्वर्या कुँवरलाई नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले सदस्य पदबाट निलम्बन गरेको छ।

महासंघका जिल्ला शाखा सचिव कुन्दन पाण्डेयद्वारा जारी विज्ञप्तिअनुसार असार ७ गते महेन्द्रनगरस्थित होटल स्वीट ड्रीममा समाचार सङ्कलनका क्रममा पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि गरेको दुर्व्यवहार र हातपातको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा पत्रकार कुँवरले सार्वजनिक स्थलमा पत्रकारको पदीय मर्यादा र आचारसंहिताविपरीत व्यवहार गरेको ठहर गर्दै नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौँ संशोधन, २०७५) को परिच्छेद ५ को दफा १८ उपदफा (३) को ‘च’ बमोजिम शाखा सदस्य पदबाट निलम्बन गरिएको उल्लेख गरिएको छ ।

महासंघले घटनाको छानबिन प्रक्रिया अघि बढाइरहेको जनाउँदै सार्वजनिक भएको भिडियो सामग्रीमा वडाध्यक्ष देवकोटाले पत्रकार कुँवरमाथि फिरौती माग्ने तथा रकम असुली गरेको आरोप लगाएको देखिएकाले सो सम्बन्धी प्रमाण तथा आधार उपलब्ध गराइदिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top