होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सभाको आजको बैठकले कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित गरेको छ ।
त्यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री यामलाल कँडेलले संघीयता कार्यान्वयनको निम्ति सबै कानुन महत्वपूर्ण हुने बताएका थिए । त्यसमा पनि प्रदेश प्रहरी ऐन संघीयताको मुख्य अभिन्न हिस्सा भएको उनले जानकारी दिए ।
उनले भने, ‘यो कानुन आफैमा विशिष्ट महत्व राख्ने कानुन हो । जुन कुरा एकल प्रयासबाट सम्भव नभएकै कारणले गर्दा बाहिर यसैलाई आधार बनाएर संघीय सरकारको समय समयमा नेतृत्व गर्ने सबै राजनीतिक दलहरूलाई टिप्पणी गरिरहेको अवस्था छ ।’
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु कृष्णबहादुर जिसी, हिक्मत विष्ट, टेकराज पछाई र सन्तोषी शाहीले भाग लिएका थिए ।
प्रदेशमा शान्ति सुरक्षा कायम गर्दै अपराध अनुसन्धान, रोकथाम र नियन्त्रण मार्फत संविधान प्रदत्त मौलिक हक, मानव अधिकारको संरक्षण तथा नागरिक स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यले प्रदेश प्रहरीको गठन, सञ्चालन, सुपरिवेक्षण, समन्वय, व्यवस्थापन र नियमनका लागि यो ऐन ल्याइएको बताइएको छ ।