ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका आठ जना महिला उद्यमी जनही एक लाख रुपैयाँसहित सम्मानित

नेपालगाथा २०८१ फाल्गुण २४ गते शनिबार २०:४०:५७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका आठजना महिला उद्यमीलाई जनही एक लाख रुपैयाँसहित सम्मानित गरेको छ । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय स्रोत साधनको उपयोग गर्दै उद्योग स्थापना गरी रोजगारी सिर्जना गरेको भन्दै आठ जना महिला उद्यमीलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको हो ।

सम्मानित हुनेमा डोल्पाकी ललिता थापा (करुणा घरेलु तथा अल्लो उद्योग), हुम्लाकी लछु भण्डारी (लक्ष्मी सिलाई कटाई उद्योग), जुम्लाकी नारायणी चौलागाईं (सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योग), सल्यानकी गीता कुमारी पुनमगर (दिदीबहिनी बाख्रा फार्म), कालीकोटकी सीता शाही (शाही पोल्ट्री फार्म), दैलेखकी बिन्दु कुमारी उपाध्याय (बिन्दु सिलाई कटाई उद्यम), मुगुकी सविना रोकाया (सविना टेलर्स) र सुर्खेतकी सुजाता पाण्डे (देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टर प्रा.लि.) रहेका छन् ।

सम्मानपछि जुम्लाकी उद्यमी नारायणी चौलागाईंले महिलाका नाममा जग्गा नहुँदा उद्योग दर्ता गर्न समस्या हुने गरेको बताइन् । प्रविधिको सहज उपलब्धता नहुनु र भए पनि महँगो हुनुका कारण उत्पादनशील उद्योगहरू विस्तार गर्न चुनौती भएको उनले उल्लेख गरिन् ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले दुर्गम क्षेत्रका महिलाहरूले अझै पनि अधिकारका लागि संघर्ष गर्नुपर्ने बाध्यता रहेको बताइन् । महिलाहरूले अब अधिकार मागेर होइन, खोसेर लिनुपर्ने धारणा राख्दै उनले समाजको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताइन् ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले ‘एक जिल्ला, एक महिला उद्यमी सम्मान’ योजना रहेको बताउँदै जाजरकोट र रुकुम पश्चिमका उद्यमीहरू प्रक्रिया पूरा नगरेकाले सम्मान गर्न नसकिएको जानकारी दिए । उनले छिट्टै प्रक्रिया पूरा गरी बाँकी दुई जिल्लाका उद्यमीलाई पनि सम्मान गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भण्डारीले सरकारका तर्फबाट आगामी बजेटमा महिला उद्यमशीलताको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले महिला उद्यमशीलतालाई अझ प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top