होमपेज / समाज
सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णप्रसाद शर्माले प्रविधिलाई अवसरको रुपमा लिँदै क्षमतावान् पत्रकार बन्न महिला पत्रकारहरुलाई आग्रह गरेका छन् । सञ्चारिका समूह कर्णाली प्रदेशको तेस्रो अधिवेशनमा बोल्दै अध्यक्ष शर्माले प्रविधिले दिएका चुनौतीलाई ध्यानमा राख्दै महासंघले प्रविधिमैत्री विभिन्न तालिम सञ्चालन गर्ने बताए ।
उनले प्रविधिको विकाससँगै पत्रकारिता अभ्यासमा नयाँ आयाम आएको उल्लेख गर्दै अब समाचार लेख्नका लागि समाचार कक्ष धाउन नपर्ने बताए ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले पत्रकारिता पेशाबाट पलायन हुनेहरुको संख्या घटाउनका लागि नयाँ ढंगले सोच्नुपर्ने बताए । उनले पछिल्लो समय महिला पत्रकारहरू सक्रिय रूपमा काम गरिरहेकोमा खुशी व्यक्त गर्दै संस्थागत विकासका लागि निरन्तर लाग्नुपर्ने सुझाव दिए ।
सञ्चारिका समूह कर्णाली प्रदेशकी संस्थापक अध्यक्ष टिका बिष्टले अघिल्लो समयभन्दा पछिल्लो समयमा महिला पत्रकारहरु उल्लेखनीय रुपमा वृद्धि भएको बताइन् । पहिलेभन्दा अहिले महिला पत्रकारको संख्यामा मात्र होइन, उनीहरूको सक्रियता र क्षमतामा पनि सुधार देखिएको छ उनले भनिन् तर, अझै धेरै गर्न बाँकी छ ।
प्रदेश अध्यक्ष सीता वलीले कर्णाली प्रदेश सभामा महिलाहरुको अर्थपूर्ण उपस्थित लगायतका बिषयमा खबरदारी गरिरहेको बताइन् । पत्रकार महिलाहरुको सुरक्षाको लागि १५ लाखको अक्षय कोष स्थापनाका लागि पहल गरेको अध्यक्ष वलीले बताइन् ।