होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले समाजमा सकारात्मक प्रभाव पर्नेगरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रदेश सरकार अन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिन आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कडेलले समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै सकारात्मक प्रभाव पर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । उनले भने, 'हिजोको जस्तो समय छैन, अब नागरिक सचेत भइसकेका छन्, तपाईहरुको कामको मूल्याङ्कन नागरिकस्तरबाटै भइरहेको छ।’
आफनो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत बढाउने काममा नलाग्न मुख्यमन्त्री कडेलले कर्मचारीलाई निर्देशन दिए । उनले भने, 'तपाईहरु नै भोलिको प्रदेश सचिव, प्रमुख सचिवको हकदार हो, इमान्दारिताले त्यो स्थानमा पुग्न सकिन्छ तर म अधिकृत भए भनेर प्रचलित कानूनको विपरीत गएर काम गर्नुभयो भने, तपाईहरुकै करियर समाप्त हुन्छ ।’ कर्मचारीले राम्रो काम गरेर देखाए त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने र नागरिकलाई थितिमा हिडन बाध्य पार्ने पनि मुख्यमन्त्री कडेललको भनाई थियो ।
सरकारका नीतिगत निर्णयमा राजनीतिक नेतृत्व जिम्मेवार भए पनि, निर्णय कार्यान्वयन गर्ने प्रमुख दायित्व कर्मचारी संयन्त्रको भएकाले कर्मचारीको कार्यसम्पादनबाटै सरकारको उपलब्धि देखिने मुख्यमन्त्री कडेलको धारणा थियो । विकास र समृद्धि भनेको एकल यात्रा नभएर सामुहिक यात्रा भएकोले आआफनो ठाउँबाट सबैले योगदान दिन सके समृद्धि टाढा नरहेको पनि मुख्यमन्त्री कडेलको भनाई थियो ।