ट्रेण्डिङ

होमपेज / समाज

अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान

नेपालगाथा २०८१ माघ १४ गते सोमबार १२:०३:१६ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वार्ड नं २ मा रहेका अपाङ्गता भएका व्यक्तिहरूको लागि सहायक सामग्री वितरण गरिएकाे छ । आईएनएफ  सुर्खेत, पहुँच तथा समावेशीकरण परियोजनाको आर्थिक सहयोग, वीरेन्द्रनगर नगरपालिका वार्ड नं २ को आयोजना र दौलतपुर शहरी  स्वास्थ्य केन्द्र  तथा नगर स्तरीय अपाङ्गता सञ्जालको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सहायक सामग्री वितरण नगर प्रमुख मोहनमाया ढकालले गर्नुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन माया ढकालले अपाङ्गता भएका व्यक्ति र समुदायसम्म असल सेवाभावले नगरपालिकासंग समेत समन्वय गरी आईएनएफ  सुर्खेतले  सेवा  प्रवाहमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।  सरकारले मात्र नागरिकका आवश्यकता पूरा गर्न नसक्ने भएको हुँदा आईएनएफ जस्ता सेवाभावले काम गर्ने संस्थाहरूको आवश्यकता रहेको बताउनुभयो।

नगरपालिकाले  आफनो  स्रोत तथा आईएनएफ जस्तो विषय विज्ञता भएको संस्थाहरुलाई साथमा लिएर अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक जीवनमा सहजता ल्याउन वीरेन्द्रनगर नगरपालिका सधैँ प्रयत्नशील रहेको  बताउँदै नगरप्रमुख ढकालले वीरेन्द्रनगर नगरपालिका सबैसँग हातेमालो गर्दै जनताको घरदैलोमा सेवा सुविधा प्रदान गर्न दत्तचित्त रहेको बताउनु भयो।  यसै प्रसंगमा  पालिका भित्रअब बन्ने सार्वजनिक भवनहरु अपाङ्ग मैत्री / पहुँच युक्त  बनाउने समेत नगरप्रमुख ढकालले बताउनुभयो। 

सहायता सामग्री वितरण गर्ने कार्यक्रमको सन्दर्भमा नगर प्रमुख मोहनमाया ढकाल र नगर उपप्रमुख नीलकण्ठ खनालका हातबाट १७ जना अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्रीहरू प्रदान गरिएकाे छ ।  कार्यक्रमका सभाअध्यक्ष तथा वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष गजबहादुर बुढाले आईएनएफले मङ्सिरको महिनामा अपाङ्गता पहिचान शिविर यसै स्थलमा गरेको र उक्त शिविरमा ३५ जना अपाङ्गता भएका व्यक्तिहरुको चेकजाँच भएको जानकारी दिनुभयाे ।

साथै उहाँले यसरी चेकजाँच भएका व्यक्तिहरु मध्ये एक जनालाई कृत्रिम खुट्टाका लागि आईएनएफ पोखरामा पठाइएको, एकजनालाई व्हीलचेयर प्रदान गरिएको, तीनजनाले आईएनएफ सुर्खेत साईनिङ अस्पतालमा करिब ४५ दिनको उपचार सहित पुनर्स्थापना सेवा प्राप्त गरेको र अहिले १७ जनाका लागि सहायता सामग्री आईएनएफ सुर्खेतले उपलब्ध गराएकाे जानकारी दिनुभयाे ।

कार्यक्रमको उद्देश्य तथा आईएनएफको सेवा प्रवाहका बारेमा आईएनअफ सुर्खेतका ललितबहादुर सारुले पालिकाहरु, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरुसँगको साझेदारी र सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गर्ने, उनीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने,  सिपमुलक तथा व्यवसायिक तालिम प्रदान गर्ने र सहायक सामग्रीहरु प्रदान गर्ने जस्ता कार्य गरिरहेको जानकारी दिनुभयाे ।

कार्यक्रममा शहरी स्वास्थ्य केन्द्रका प्रमुख पुष्कर खड्का, दौलतपुर शहरी स्वास्थ्य व्यवस्था समितिका सदस्य प्रेम बहादुर थापा, नगरस्तरीय अपाङ्गता सञ्जालका उपाध्यक्ष किरण किशोर सापकोटा, सचिव जय बहादुर बिक, कोषाध्यक्ष रत्ना रानाको समेत उपस्थिति रहेकाे कार्यक्रमकाे सञ्चालन पहुँच तथा समावेशीकरण परियोजनाका परियोजना अधिकृत लोकप्रसाद गौतमले गर्नुभएको थियो भने कार्यक्रममा सहभागीलाई स्वागत दौलतपुर शहरी  स्वास्थ्य केन्द्रका प्रमुख पुष्कर खड्काले गर्नुभएको थियो।  

नेपालका गरिब र पिछडिएका जनता र समुदायका लागि आफ्नो पूर्णतामा जीवन भन्ने परिकल्पनाका साथ आइएनएफले १९५२ देखि नेपालमा कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएका मानिसहरूलाई मद्दत गर्ने; केही दुर्गम र गरिब समुदायहरूमा विकासलाई सहज बनाउँछ साथै मेडिकल आउटरिच कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ।

 "अपांगता भएका व्यक्तिहरुको लागि आर्थिक सुधार, पहुच तथा समावेशीकरण" परियोजना सुर्खेतका ४ पालिकाहरु वीरेन्द्रनगर, पञ्चपुरी, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँ पालिकामा जुलाई २०२२ देखि २०२५ सेप्टेम्बरसम्मका लागि संचालित रहेकाे छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top